पुस,१ काठमाडौँ। काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको छ ।
उहाँको ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा हुनुहुन्थ्यो । निधन पछि उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि चक्सिबारीमा राखिएको थियो ।
बिभिन्न दलका नेता, काठमाडौं महानगरका प्रमुख, उपप्रमुख, शुभेच्छुक लगाएत चक्सिबारीमा पुगेर सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जलीपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले पिएल सिंह नेपाली राजनीतिको लोकप्रिय व्यक्ति भएको र मुलकको परिवर्तनका लागि सिंहले पुराउनुभएको योगदान स्मरणीय रहने बताउनुभयो ।
त्यस्तै काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले सिंहको नेतृत्वदायी भूमिकालाई सदैव स्मरण गर्ने बताउनुभयो ।
त्यस्तै कांग्रेस नेता अर्जुन नरसिंह केसीले सिंहले निरन्तर रुपमा लोकतन्त्रीक पद्धतीको जगेर्ना गर्नका लागि ठूलो योगदान गर्नुभएको र उहाको निधनले ठूलो क्षति भएको बताउनुभयो ।
सिंह २०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बन्नुभएको थियो ।