×

काठमाडौँ आइपुगे प्रख्यात क्रिकेटर ब्रायन लारा

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

मङ्सिर,२८ काठमाडौँ।  वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौँ आउनुभएको छ ।

उहाँ शुक्रबार बिहान काठमाडौँ आउनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गरेका थिए । लारा क्यानको निमन्त्रणामा काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण हेर्न काठमाडौँ आउनुभएको हो । वेष्टइन्डिजका पूर्वकप्तानसमेत रहनुभएका उहाँले एनपिएलका केही खेल हेर्ने र खेलाडीहरूसँग साक्षात्कार गर्ने क्यानले जनाएको छ । नेपाल आएपछि उहाले नेपालको क्रिकेट हेर्न इच्छुक भएको बताउनुभयो ।

क्रिकेटर लाराले वेष्टइण्डिजका लागि सन् १९९० देखि २००७ सम्म राष्ट्रिय टोलीबाट खेल्नुभएको थियो । उहाँले वेष्टइण्डिजका लागि एक सय ३१ टेष्ट खेल खेल्नुभएको छ । एक सय ३१ खेलबाट लाराले ११ हजार नौ सय ५३ रन बनाउनु भएको थियो । उहाँले टेस्ट क्रिकेटमा ३४ शतक प्रहार गर्नुभएको छ भने ४८ अर्धशतक प्रहार गर्नुभएको छ । उहाँले टेस्ट क्रिकेटमा एक खेलमै चार सय रन प्रहार गरेर विश्व रेकर्डसमेत बनाउनुभएको छ । लाराले सन् २००४ अप्रिल १२ मा इङ्गल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा अविजित रहँदै चार सय रन बनाउनुभएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *