मङ्सिर२७,काठमाडौँ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले औषधि विधेयकको मस्यौदा तयार गरी सदनमा पेश गर्ने तयारी भएको जानकारी दिनुभएको छ ।
सिहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पौडेलले औषधीका बिषयहरुलाई कानून रुपमा समेट्नका लागि औषधि विधेयकको मस्यौदा तयार गरी सदनमा पेश गर्ने तयारी गरिएको जानकारी दिनुभयो । उत्पादनका सन्दर्भमा स्वदेशमा १७३ प्रकारका औषधी उत्पादन गर्ने कम्पनी रहेको र उक्त कम्पनीमार्फत ५० प्रतिशत आवश्यकता पूर्ति हुने गरेको उहाले बताउनुभयो ।
मन्त्री पौडेलले बाँकी ५० प्रतिशत औषधीहरु आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाले २०७२ सालमा ९६ वटा औषधीको अधिकतम मूल्य सूची सरकारले तोकेको र त्यसबाहेकका औषधीहरुको मूल्य निर्धारण हुन नसकेको बताउनुभयो । नेपालमा प्रयोग हुने सवै औषधीहरुको मूल्य निर्धारण गर्न जरुरी रहेकाले त्यसको गृहकार्य भइरहेको तथा सरकारी अस्पतालमा रहेका फार्मेसीमा औषधिको मूल्य सूची टाँस्न सरकारले निर्देशन समेत दिइसकेको उहाको भनाइ छ ।