मङ्सिर२७,काठमाडौँ। सांसदहरुले सार्वजनिक विदाको संख्या घटाउन सरकारलाई सुझाव दिएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरुले नेपालमा धेरै विदा हुँदा जनतामा सहज रुपमा सेवा प्रवाहमा समस्या भएकाले विदाको संख्या घटाउन सरकारलाई सुझाव दिएका हुन् । सांसद अमरेशकुमार सिंहले वर्षमा ३० दिनभन्दा बढी बिदा नपाउने व्यवस्था गर्न सुझाव दिनुभयो ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर छलफलका क्रममा उहाले हरेक कुरामा विदा दिने प्रचलनले समयमा नै काम नहुने र जनतालाई समेत समस्या पर्ने देखिएको बताउनुभयो । सांसद सिंहले सार्वजनिक निकायमा मन्त्रीहरुको कार्यकक्ष बनाउने काम उचित नभएको उल्लेख गर्नुभयो ।
त्यस्तै सांसद श्याम घिमिरेले खरदारसम्मका लागि कर्मचारी नीति क्षेत्रको कम्पनीबाट लिनुपर्ने र पाँचौ तहबाट मात्रै निजामती सेवामा कर्मचारी लिनुपर्ने सुझाव दिनुभयो । उहाले विधेयकहरुलाई समयमा नै अघि बढाउन समिति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसद माधव सापकोटाले समितिको बैठकबारे बिहान साढे दश बजेमात्र जानकारी आएको र तयारी नगरेकाले छलफलमा भाग नलिने बताउनुभयो । उहाले २४ वटा बुँदामा संशोधन दर्ता गरेपनि प्रयाप्त छलफल हुने अवस्थान नदेखिएको जिकिर गर्नुभयो । उहाले विधेयकमा राजनीतिक हस्तक्षेप हुने र समयमा नै पास हुन नसक्ने आशंका उत्पन्न भएको बताउनुभयो ।
समितिका सभापति रामहरि खतिवडाले निरन्तर बैठक भएकाले सूचना पठाउन ढिलाई भएको जवाफ दिनुभयो ।
सभापति खतिवडाले समितिमा रहेका विधेयकलाई निष्कर्षमा पुराउनका लागि समिति निरन्तर क्रियाशिल रहेको उल्लेख गर्नुभयो । अर्को बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अन्य संशोधनकर्तासंग छलफल गर्ने उहाले जानकारी दिनुभयो ।