मङ्सिर २५,काठमाडौँ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाले राज्य र राजनीतिक शक्तिहरू मानवअधिकार रक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाले मानवअधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको समेत बताउनुभयो । सर्वोच्च अदालतका फैसला कार्यान्वयन र सङ्क्रमणकालीन न्यायलाई पीडित मैत्री बनाउनेमा सरकारले ध्यान उहाको भनाइ छ । पौडेलले मानवअधिकारको रक्षा र आयोगको कार्य सञ्चालनका लागि भौतिक एवं आर्थिक स्रोत सुनिश्चित गर्न प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेको सिफारिस कार्यान्वयनका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग ऐन संसद्बाट जारी गर्ने कार्यमा पनि सरकारकोसकारात्मक पहलकदमीको अपेक्षा आयोगले गरेको उहाले बताउनुभयो ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ ।