मङ्सिर २४ , काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताउनुभएको छ ।
आइतबार एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले व्यापारिक कम्प्लेक्स सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । विश्वका ठुला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्नुभयो । उहाँले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरूलाई तथ्यहीन आरोप लगाए जस्तो नहुने उल्लेख गर्नुभयो ।
चीन भ्रमणबाट देशका लागि उपलब्धि भएको र केही समयपछि भारत जाने पनि प्रधानमन्त्रीले अवगत गराउनुभयो । सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेकोे छ ।