मङ्सिर २४ ,काठमाण्डौ। उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सुशासनका साथै सभ्य समाज निर्माण गर्न भ्रष्टाचारलाई निर्मुल पार्नुपर्ने बताउनुभएको छ ।
भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सिंहले सुशासन र सभ्य समाज निर्माण गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त बताउनुभएको हो ।
उहाले प्रविधि विकाससंगै भ्रष्टाचारको स्वरुप पनि जटिल बन्दै गएको अवस्थामा यसका बिरुद्ध राज्य थप सक्रिय हुन जरुरी रहेको धारणा राख्नुभयो । भ्रष्टाचार एउटा संगठित अपराध भएकाले प्रजातान्त्रीक संस्थाहरुलाई पनि कमजोर पार्ने उहाको भनाइ छ ।
उहाले भ्रष्टाचारले निर्वाचन प्रणालीलाई प्रभावित गरी राजनीतिक अस्थिरता बढाउने भएकाले थप सक्रियता जरुरी रहेको बताउनुभयो ।
त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगमा दर्ता भएका उजुरी संख्या बढ्दै जानुले यसको नियन्त्रण गर्ने संस्थाहरु कमजोर हुदै गएको हो की भन्ने आभाष भएको बताउनुभयो । उहाले भ्रष्टाचार नियन्त्रण र सदाचार कायम गर्ने कार्यका लागि राज्यका तीनवटै अंगहरु र तीनै तहहरुले आफ्ना कानूनले तोकेका जिम्मेवारीहरु प्रभावकारी रुपमा निर्वाह गर्न जरुरी रहेको धारणा राख्नुभयो ।
भोलिका सदाचार निर्माणःयुवाहरुसंग भ्रष्टाचार बिरुद्ध ऐक्यवद्धता भन्ने नाराका साथ नेपालमा भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको हो । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखमा भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो ।