मोरङ । झापाको दमक नगरपालिका–८ निवासी २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरी अझै स्पष्ट निष्कर्षमा पुग्न सकेको छैन ।
घटनाको पाँच दिन बितिसक्दा पनि हत्या कहाँ, कसरी र कसले ग¥यो भन्ने मुख्य प्रश्नको उत्तर प्रहरीले फेला पार्न सकेको छैन । यद्यपि, घटनाको प्रकृति, भेटिएका प्रमाण र प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले हत्या अन्यत्रै गरेर शव रतुवा खोलामा ल्याएर फालिएको निष्कर्ष निकालेको छ ।
गत जेठ १६ गते शनिबार बिहान मोरङ–झापा सीमास्थित सेतुमाडी क्षेत्रको रतुवा खोलामा प्लास्टिकको बोराभित्र पोको पारिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो ।
स्थानीयले खोलामा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले बोराभित्र रहेको शव निकालेको थियो।
प्रारम्भिक पहिचान हुन नसकेको शव पछि दमक–८ की रमा तिवारीको रहेको पुष्टि भएको थियो ।
घटनाले झापा र मोरङ क्षेत्रलाई स्तब्ध बनाएको छ । एक सामान्य परिवारकी युवतीको यसरी हत्या भएको अवस्थामा शव फेला परेपछि स्थानीय समुदायमा त्रास र आक्रोश दुवै देखिएको छ । परिवारले दोषीलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न माग गरिरहेका छन् भने प्रहरीले अनुसन्धानलाई प्राथमिकतामा राखेको जनाएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार शव भेटिएको स्थानलाई ‘सेकेन्डरी लोकेसन’ मानिएको छ । अर्थात् हत्या त्यहीँ नभई अन्यत्र गरिएको र पछि शवलाई बोरामा प्याक गरेर खोलामा फालिएको अनुमान छ। झापा प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाँका अनुसार घटनास्थलको अवस्था, शवको स्थिति र अन्य प्राविधिक पक्षको अध्ययन गर्दा हत्या अन्यत्र भएको देखिन्छ ।
शव भेटिएको स्थान घटनाको मुख्यस्थल होइन भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष छ, प्रहरी स्रोतले जनाएको छ । ‘जहाँ हत्या भयो, त्यो प्राथमिक स्थल अर्थात् प्राइमरी लोकेसन पहिचान गर्न सकियो भने घटनाका धेरै रहस्य खुल्ने सम्भावना छ ।’
प्रहरीका अनुसार रमा तिवारी गत बुधबार साँझ घरबाट बाहिरिएकी थिइन् । परिवारका सदस्यले दिएको जानकारीअनुसार उनी राति करिब ८ बजेतिर साथी भेट्न भनेर घरबाट निस्किएकी थिइन् । त्यसपछि उनी घर फर्किनन् । परिवारले सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्क हुन नसकेपछि चिन्ता बढेको थियो । केही दिनपछि उनको शव फेला परेपछि परिवार शोकमा डुबेको छ ।
अनुसन्धानको क्रममा प्रहरीले रमाको मोबाइल फोनको विवरण पनि अध्ययन गरेको छ । प्राविधिक विश्लेषणबाट उनको मोबाइलको अन्तिम सक्रिय लोकेसन दमक बजार क्षेत्रमा देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार राति करिब ११ बजेको आसपासमा मोबाइल फोन बन्द भएको देखिन्छ । त्यसपछि मोबाइल सक्रिय भएको कुनै संकेत भेटिएको छैन ।
मोबाइलको अन्तिम लोकेसन, सम्पर्कमा रहेका व्यक्तिहरू, सीसीटीभी फुटेज र अन्य डिजिटल प्रमाणको विश्लेषण गरेर घटनाको शृंखला जोड्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर अहिलेसम्म घटनालाई पूर्ण रूपमा स्पष्ट पार्ने निर्णायक प्रमाण भने हात लागेको छैन ।
प्रहरीले अनुसन्धानको क्रममा रमासँग अन्तिम समयसम्म सम्पर्कमा रहेका व्यक्तिहरूमाथि सोधपुछ गरिरहेको छ । परिवारले दिएको जानकारीअनुसार रमालाई भेट्न बोलाउने एक युवक सोही दिन सुधार केन्द्रबाट छुटेका थिए । प्रहरीले ती युवकसँग विस्तृत सोधपुछ गरेको भए पनि उनको संलग्नता पुष्टि गर्ने आधार हालसम्म फेला परेको छैन ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार घटनाको प्रकृति हेर्दा एक व्यक्तिले मात्र हत्या गरेको सम्भावना कम देखिन्छ । शव बोक्ने, बोरामा प्याक गर्ने र खोलासम्म पु¥याउने काममा एकभन्दा बढी व्यक्ति संलग्न हुन सक्ने अनुमान गरिएको छ । यद्यपि यो प्रारम्भिक विश्लेषण मात्र भएकाले अनुसन्धानले पुष्टि नगरेसम्म कुनै निष्कर्ष निकाल्न नमिल्ने प्रहरीको भनाइ छ ।
यसबीच सामाजिक सञ्जालमा घटना सम्बन्धी अनेक अड्कलबाजी, अपुष्ट दाबी र अनुमानमा आधारित सामग्रीहरू सार्वजनिक भइरहेका छन् । केही युट्युब च्यानल र कन्टेन्ट क्रिएटरहरूले घटनाबारे विभिन्न व्यक्तिलाई जोडेर सामग्री बनाइरहेका छन्। प्रहरीले यस्ता सामग्रीले अनुसन्धानलाई प्रभावित पार्न सक्ने भन्दै गम्भीर चासो व्यक्त गरेको छ ।
प्रहरीको भनाइमा अनुसन्धानको संवेदनशील चरणमा अपुष्ट सूचना सार्वजनिक हुँदा वास्तविक तथ्य पत्ता लगाउने प्रक्रियामा बाधा पुग्न सक्छ । यसले निर्दोष व्यक्तिमाथि अनावश्यक शंका उत्पन्न गर्नुका साथै सम्भावित प्रमाणसमेत प्रभावित हुन सक्ने जोखिम रहन्छ ।
‘अनुसन्धान जारी रहेका बेला अनुमानका आधारमा कसैलाई दोषी ठहर गर्ने वा अपुष्ट सूचना फैलाउने काम नगर्न हामी आग्रह गर्छौं,’ इन्स्पेक्टर बानियाँले भनेका छन् ।
आधिकारिक पुष्टि नभएका विवरणले न्यायिक प्रक्रियालाई समेत असर पु¥याउन सक्छ ।
कानुनका जानकारहरुले पनि गम्भीर प्रकृतिका अपराधमा सामाजिक सञ्जालको दबाबभन्दा प्रमाणमा आधारित अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताउँछन् ।
हत्या जस्ता घटनामा वैज्ञानिक अनुसन्धान, डिजिटल प्रमाण, फरेन्सिक परीक्षण र प्रत्यक्ष–अप्रत्यक्ष साक्ष्यको भूमिका महत्वपूर्ण हुने भएकाले हतारमा निष्कर्ष निकाल्दा वास्तविक अपराधी उम्किन सक्ने उनीहरूको भनाइ छ ।
यता रमा तिवारीको परिवार भने न्यायको प्रतीक्षामा छ । छोरीको हत्या कसले र किन ग¥यो भन्ने प्रश्नको उत्तर खोजिरहेका परिवारजनले प्रहरी अनुसन्धानप्रति आशा व्यक्त गरेका छन् । स्थानीयवासीले पनि घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरेका छन् ।
प्रहरीले अहिले घटनासँग सम्बन्धित सम्भावित व्यक्तिहरूको गतिविधि, मोबाइल सम्पर्क विवरण, सीसीटीभी फुटेज, यात्रा र आवतजावतको रेकर्ड तथा अन्य प्राविधिक प्रमाणहरू अध्ययन गरिरहेको जनाएको छ । अनुसन्धानका विभिन्न पाटो खुला राखेर काम भइरहेको र प्रमाणको आधारमा मात्र निष्कर्षमा पुगिने प्रहरीको भनाइ छ ।
रतुवा खोलामा फेला परेको एक युवतीको शवबाट सुरु भएको यो अनुसन्धान अहिले हत्या भएको वास्तविक स्थान, हत्याको उद्देश्य र संलग्न व्यक्तिहरूको पहिचानतर्फ केन्द्रित छ ।
तर मुख्य प्रमाणको खोजी अझै जारी रहेकाले रमा तिवारी हत्या प्रकरण अनेक प्रश्नको घेरामा रहेको छ । प्रहरी अनुसन्धानले ती प्रश्नहरूको उत्तर कहिले र कसरी दिन्छ भन्नेमा अहिले सबैको चासो केन्द्रित भएको छ ।

