काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले हालको राजनितीक स्थायित्वलाई आर्थिक समृद्धिको अभुतपूर्व अवसरका रुपमा उपयोग गर्नुपर्ने बताएका छन् ।
महासंघको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ६० वर्षको यो कालखण्डले साना, मझौला र ठूला सबै व्यवसायीलाई एउटै मञ्चमा जोड्दै राष्ट्रिय उद्यमशीलता र आर्थिक रूपान्तरणको मार्ग प्रशस्त गरेको ढकालको भनाई छ । कार्यक्रममा बोल्दै उनले भने,‘वर्तमान राजनीतिक स्थायित्वलाई आर्थिक समृद्धिको अभूतपूर्व अवसरका रूपमा उपयोग गर्नुपर्छ ।’
सरकारले महासंघको आग्रह बमोजिम निजी क्षेत्र प्रवद्र्धन एवं संरक्षण रणनीति (पिएसपीपी) पारित गरेकोमा आभार व्यक्त गर्दै यसले व्यवसायीलाई भौतिक र नीतिगत सुरक्षाको प्रत्याभूति दिने विश्वास व्यक्त गरिएको छ । नीतिगत सुधारका लागि सरकारले दोस्रो चरणको आर्थिक सुधार प्रक्रिया सुरु गर्नु र केही पुराना कानुन खारेजीको निर्णय गर्नुलाई महासंघले सकारात्मक कदम मानेको छ ।
दोस्रो चरणको आर्थिक सुधारका लागि महासंघकै पहलमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई कार्य अघि बढेको छ । बागलुङको ढोरपाटन बैठकबाट मार्गचित्र तयार पारिएको यो सुधार प्रक्रियाले कानुनी स्थायित्व, सदाचारको प्रवद्र्धन र प्रविधिको उच्चतम प्रयोगमा जोड दिएको छ । ‘राष्ट्रिय आर्थिक रूपान्तरण २०३०’ मार्फत कानुनको संशोधन र परिमार्जन गर्दै ऊर्जा, कृषि, खनिज र पर्यटन क्षेत्रको भरपूर सदुपयोग गर्ने लक्ष्य महासंघले राखेको छ ।
स्वदेशी पुँजी परिचालन गर्न महासंघको अग्रसरतामा १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको ’नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ कम्पनी स्थापना भई कार्य सुरु भइसकेको छ। यसले ४० देखि ५० अर्बसम्मका ठूला आयोजना सञ्चालन गर्न सक्ने र ’नेपालमा केही हुँदैन’ भन्ने नकारात्मक भाष्यलाई चिर्ने विश्वास लिइएको छ । साथै, वैदेशिक लगानी आकर्षित गर्न विभिन्न मुलुकमा बिजनेस समिटहरू आयोजना गरी सुशासन र प्रविधिको प्रयोगमार्फत लगानीकर्ताको विश्वास जित्ने प्रयास भइरहेको छ ।
मुलुकमा रोजगारीको समस्या गम्भीर रहेको उल्लेख गर्दै महासंघले वार्षिक ७ लाख युवा कामको खोजीमा विदेशिनु पर्ने बाध्यतालाई चिर्नुपर्ने बताएको छ । निजी क्षेत्रले हाल ८६ प्रतिशत रोजगारी प्रदान गरिरहेको भए पनि प्रत्येक वर्ष श्रम बजारमा आउने ५ लाख नयाँ शक्तिलाई खपत गर्न अझै ठूलो लगानी र सुरक्षित वातावरण आवश्यक छ । छिमेकी मुलुकहरूको आर्थिक प्रगतिलाई उदाहरण मान्दै नेपालमा पनि उच्च ज्यालासहितको मर्यादित रोजगारी सिर्जना गर्नु अबको मुख्य प्राथमिकता हुनुपर्छ ।
महासंघले प्रतिकूलतामा पनि अनुकूलता खोज्दै निराशालाई आशामा बदल्ने संकल्प गरेको छ । आगामी बजेटलाई आर्थिक सुधारको प्रस्थानविन्दुका रूपमा ल्याउन आग्रह गर्दै ’निजी क्षेत्रको सम्मान समृद्धिको आधार’ भन्ने नारालाई सार्थक बनाउन सबै सरोकारवालालाई आह्वान गरिएको छ। आर्टिफिसियल इन्टेलिजेन्स र प्रविधिको प्रयोगमार्फत सुशासन कायम गर्दै समृद्ध नेपाल निर्माण गर्न निजी क्षेत्र सरकारसँग काँधमा काँध मिलाएर हिँड्न तयार रहेको सन्देश प्रवाह गरिएको छ ।
यस्तो छ उनको सम्बोधन(पूर्णपाठ)
नेपाल उद्योग वाणिज्य महासंघको ६० बर्ष केबल बर्षको गणना मात्र होइन, यो त मुलुकको आर्थिक इतिहासमा एक–एक गरेर थपिँदै गएका दृढ संकल्प, संघर्ष र साझेदारिताका सुनौला इटाहरु पनि हुन् ।
जसको माध्यमबाट देशको आर्थिक मेरुदण्डलाई मजबुत बनाउँदै राष्ट्रिय समृद्धिको सुनौलो घर निर्माणमा योगदान पुगेको छ ।
मुलुकका समग्र व्यवसायीहरुको यो छाता संस्थाले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउँदै उद्योग, व्यापार र लगानीको वातावरण सिर्जना गर्न अथक प्रयास गरेको छ । हिजोका कठिन परिस्थितिहरू, समय समयका राजनीतिक अस्थिरता र दैवी प्रकोप, आन्तरिक तथा बाह्य परिस्थितिका कारण उत्पन्न भएका आर्थिक चुनौतीहरूबीच पनि महासंघले आफ्नो भूमिकालाई कहिल्यै कमजोर हुन दिएको छैन । बरु, प्रत्येक चुनौतीलाई अवसरमा बदल्दै देशको आर्थिक गतिलाई थप अघि बढाउने एक सशक्त अगुवाको रूपमा उभिएको छ ।
६० वर्षको महासंघको इतिहास राष्ट्रिय उद्यमशीलताको प्रतीक मात्र होइन, आशाको केन्द्र र आर्थिक रूपान्तरणको मार्गदर्शक पनि हो । यसले साना, मझौला र ठूला सबै खालका व्यवसायीहरूलाई एउटै मञ्चमा जोड्दै सामूहिक समृद्धिको सपना साकार पार्ने बाटो खुलाएको र देखाएको छ ।
मलाई लाग्छ महासंघको ६० वर्षको यात्रा केवल विगतको सम्झना मात्र होइन, भावी पुस्ताका लागि प्रेरणा पनि हो । जहाँ प्रत्येक वर्ष यसैगरी थपिँदै गएको इट्टाले थप सुदृढ, आत्मनिर्भर र समृद्ध नेपालको जग अझ बलियो बनाउँदै लगेको छ ।
यस अवधिमा हामीले विविध चुनौतिलाई अवसरमा बदल्ने प्रयत्न गर्यौ । नयाँ अवसरहरुको खोजी गर्यौ । निराशालाई चिर्ने प्रयास पनि गर्यौ । धेरैमा हामी सफल पनि भयौ ।
गत फागुन २१ गतेको निर्वाचन पछि झण्डै दुई तिहाइको स्थायी सरकार पनि गठन भएको छ । नयाँ सरकारको पहिलो मन्त्रीपरिषद् वैठकले नेपाल उद्योग वाणिज्य महासंघको आग्रह बमोजिम निजी क्षेत्र प्रवद्र्धन एवं संरक्षण रणनीति (पिएसपीपी) पारित गरी तत्काल लागु गर्ने निर्णय गरेको छ । यसका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यू एवं सम्पूर्ण मन्त्रीमण्डलप्रति अभार व्यक्त गर्दछु ।
२०४६ पछिका प्रायः आन्दोलनमा निजी क्षेत्र प्रभावित हुने र पछिल्लो आन्दोलनमा पनि निजी क्षेत्रमाथि आक्रमण भएको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउन यो आवश्यक थियो ।
यसले निजी उद्यम र व्यवसायीलाई सुरक्षाको ग्यारेन्टी गर्नेछ । भौतिक सुरक्षा मात्र नभइ नीतिगत सुरक्षाको प्रत्याभूति पनि यस रणनीति अन्तर्गत गरिनेछ ।
यसको कार्यान्वयनका लागि महासंघले सरकारसँग सहकार्य गर्नेछ । यसैसँग जोडिएको नीतिगत सुधारका लागि महासंघकै आग्रह बमोजिम दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले पेश गरेका सुझावहरुलाई पनि सरकारले ग्रहण गरि कार्यान्वयन गर्ने क्रममा केही कानुन खारेजी प्रक्रियामा लैजाने माननीय अर्थमन्त्रीज्यूले निर्णय गर्नुभएको छ ।
बागलुङको ढोरपाटनमा आयोजित महासंघको तेस्रो कार्यकारिणी समितिको वैठकले आर्थिक बहस कार्यक्रम आयोजना गरि दोस्रो चरणको आर्थिक सुधारको मार्गचित्र तयार पार्न उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्न सरकार समक्ष आग्रह गर्ने निर्णय गरी यसका लागि पैरवी गरेको थियो ।
महासंघले राष्ट्रिय आर्थिक रुपान्तरण २०३० मार्पmत कानुनको संसोधन, परिमार्जनएवं खारेजीका लागि आग्रह गरेको थियो । आयोगका सुझाव कार्यान्वयनका लागि पिएसपीपीले संयन्त्रका रुपमा काम गर्नेछ भन्ने हामीलाई पूर्ण विश्वास छ ।
अहिले मुलुकसामु अभूतपूर्व अवसर आएको छ । स्थायी सरकार नभएर नीतिगत स्थायित्वका लागि हामीले सर्वदलीय सहमतिको खोजी गरिरहेको समयमा एकै दलको झण्डै दुई तिहाइ संसदमा उपस्थिति उल्लेखनीय अवसर हो । सरकारको यो स्थायित्वलाई मुलुकको विकास र यस मार्फत सबै क्षेत्रमा स्थायित्व प्रदान गर्ने अवसरका रुपमा सदुपयोग गरिनुपर्छ भन्ने हाम्रो आग्रह पनि छ ।
किनभने, विगतमा यस्तै सम्भावनालाई अवसरमा बदलेर प्रगति हासिल गर्नबाट चुकेका धेरै उदाहरण हामीसँगै छन् । तर हामीले काम गर्यौ, एक अर्काको महत्व र उपस्थितिलाई स्वीकार गर्यौँ, निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्न पायौँ भने हामीसँग प्रगति गर्ने अवसरहरु विश्वका अरु मुलुकहरुका तुलनामा अत्यधिक छन् भन्नेमा हामी विश्वस्त छौँ ।
नेपालीहरुको मिडियन उमेर २५ बर्ष छ । हाम्रा छिमेकी भारत र चीनसँग प्रसस्त बजार छ । बिकसित देशहरुमा हामीले भन्सार रहित बजार पहुँच पाइरहेको हुँदा यहाँका उत्पादन विश्व बजारमै प्रतिष्पर्धि हुनेछन् ।
हाम्रा युवाहरुको चाहना पुरा गर्न व्यवहारमै रोजगारी र स्वरोजगारीका अवसरहरु सृजना गर्नुपर्छ ।
देशभित्रै मर्यादित र उच्च ज्याला सहीतको रोजगारीका अवसर जबसम्म हामी सिर्जना गर्न सक्दैनौ, निराशालाई आशामा बदल्न सकिदैन । भदौको आन्दोलन त्यसैको प्रतिफल हो ।
रोजगारी प्रदान गर्न सरकारको सिमितता छ । तर हरेक बर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँचलाख युवालाई रोजगारी दिनसक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि छैन । नयाँ र पुराना गरि बर्षको करिब ७ लाख युवा काम खोज्दै विदेशिने गरेका छन् ।
सन १९६० ताका नेपालको प्रतिव्यक्ति आय ५० डलर र दक्षिण कोरियाको करिब सय डलर थियो । अहिले कोरियाको प्रतिव्यक्ति आय ४० हजार डलर हाराहारी छ भने नेपालको १४ सय । हामीकहाँ प्रगति भयो तर जति हुनुपर्ने थियो हुन सकेन ।
भुमण्डलीकरणले नागरिकको आवश्यकता र चाहना मात्रै बढेन क्षमता अनुसारको काम पाउन सारा संसार खुला भयो । त्यसैले ठुला अर्थतन्त्रमा हामीले काम पाउने भयौ । तर आप्mनो अर्थतन्त्र ठूलो बनाउन सकेनौ ।
तीन दशकमा नेपालको अर्थतन्त्र औसत ४ प्रतिशतले वृद्धि भएको छ । विदेशी लगानी वार्षिक रुपमा कुल गार्हस्थ्य उत्पादनको एक प्रतिशत काट्न सकेको छैन् । २०४८ पछि अर्थतन्त्रमा अभूतपूर्व परिवर्तन आए । त्यतिबेलाका नीतिहरुको जगमा हाम्रो अर्थतन्त्र अहिलेसम्म चलिरहेको छ ।
२०७२ पछि पनि यो अवसर आयो । सात प्रतिशत माथि अर्थतन्त्रको वृद्धि भयो । त्यसपछि स्थायित्व हुन सकेन । कोभिड १९ महामारीले अर्थतन्त्र थिचियो । कोभिड लगत्तै झण्डै ६ प्रतिशत आर्थिक वृद्धि भयो । सुधारका पर्याप्त सम्भावना देखिएका थिए । तर बजारको माग नियन्त्रण गर्न अपनाइएका नीतिगत निर्णयले बजारलाई अझै चलायमान हुन दिएको छैन ।
अहिले मध्यपूर्वमा देखिएको संकटले आप्mनो अर्थतन्त्र ठूलो बनाउनुपर्ने महत्व झन देखिएको छ । संकटले पर्यटन उद्योग प्रभावित भएको छ । इन्धनमा भएको भारी वृद्धिले लागत बढाउँदै लगेको छ । लम्बिदै गएमा रेमिट्यान्समा प्रभाव परि अर्थतन्त्र नै संकटमा पर्ने देखिन्छ ।
अहिले अभूतपूर्व अवसर छ, धेरै हदसम्म अर्थतन्त्रलाई आत्मनिर्भर बनाऔ । उच्च ज्याला सहितको रोजगारी सिर्जना निजी क्षेत्रलाई सुरक्षित भै सम्मानित रुपमा काम गर्ने वातावरण बनाऔ, किनभने ८६ प्रतिशत रोजगारी अहिले पनि निजी क्षेत्रले नै दिइरहेको छ । सरकारका सबै निकायहरुको मुख्य उद्देश्य लगानीको वातावरण बनाउने नै हुनुपर्छ । तर, अत्यधिक नियमनका कारण त्यो हुन सकेको छैन । अहिलेको हाम्रो चासो नागरिकको सहज जीवनयापन हो । मुलुकको बिकासका लागि सबैले आय आर्जनका अवसर पाउनु पहिलो शर्त हो । कमाउनका लागि पैसा, वुद्धि, विवेक सीपको लगानी गर्नुपर्यो । त्यो भन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ । जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ ।
पैसा लगानी गर्ने मुख्य दुई निकाय हुन, सरकार र निजी क्षेत्र । सरकारले लगानीका लागि पैसा मुख्यतया राजश्वबाट नै ल्याउने हो । राजश्व उद्यमी व्यवसायी र नागरिकबाट उठ्छ ।
सर्वप्रथम म सबै सरोकारवालाहरुलाई निजी क्षेत्रको महत्वलाई बुझिदिन आग्रह गर्दछु । जुन मुलुकले यो बुभ्mयो त्यसको प्रगति तिव्र भएको छ । बंगलादेश, रुवान्डा, क्याम्बोडिया, भियतनाम, लाओस जो हामी जस्तै थिए, अहिले प्रगति पथमा हामीलाई उछिन्दैछन ।
यो सम्भव छ, निजी क्षेत्र अगाडि बढेपछि भारतमा प्रति बर्ष डेढ प्रतिशतका दरले गरिबी घटिरहेको छ । बीस बर्षमा करिब ५० करोड नागरिक गरिबीको रेखाबाट माथि उठेका छन् । हामीसंगै एकैपटक विश्व व्यापार संगठनको सदस्य भएको क्याम्बोडियामा प्रत्यक्ष वैदेशिक लगानी नेपालभन्दा दश गुणा बढि भित्रिने गरेको छ । यदि यी देशले सक्छन भने हामी किन सक्दैनौ ।
अब नयाँ चरणको आर्थिक सुधारको बेला भएको बिषय मैले माथि पनि उठाएँ । महासंघको आग्रहमा नयाँ चरणको सुधारको बिषयलाई आत्मसाथ गरि तत्कालीन सरकारले आयोग गठन गर्यो । यसका सुझाव आएका छन् । माननीय अर्थमन्त्रीज्यूले कार्यान्वयन पनि शुरु गरिसक्नु भएको छ । अबको सुधार कानुनी स्थायित्व, सदाचारको प्रवद्र्धन, प्रविधिको उच्चतम् प्रयोग मार्पmत नेपालका सबै क्षेत्रका सम्भावनाहरुको (ऊर्जा, कृषि, पर्यटन, खनिज) भरपूर प्रयोग गर्दै अगाडि बढ्ने अपेक्षा गरेको छु ।
लगानी बढाउने हाम्रो मुख्य ध्येय हुनुपर्छ । बागलुङको ढोरपाटन वैठकले नै महासंघले सहजीकरण गर्ने गरि १० अर्ब रुपैयाँ चुक्ता पुँजीको लगानी कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो । स्वदेशी पुँजी संकलन गरि लगानी गर्न स्थापित नेपाल डेभलेपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना भई काम पनि शुरु भैसकेको छ । १० अर्ब पुँजीलाई इक्वीटीको रुपमा मान्ने हो भने करिब ४० देखि ५० अर्ब सम्मका ठूला आयोजना पनि अगाडि बढाउन सकिन्छ । खासमा नेपालमा केही हुँदैन भन्ने भाष्यलाई चिर्न र स्वदेशी पुँजीबाट पनि ठूला आयोजना सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश यसले दिनेछ ।
एफडीआई को हकमा हामीले पछिल्लो तीन वर्षमा भारत, चीन, युएई, कतार, स्पेन, थाइलेन्ड लगायत धेरै मुलुकहरुमा विजनेश समिट आयोजना गर्यौै । हरेक कार्यक्रममा धेरै विदेशी लगानीकर्ताहरुको सहभागिता रहेको थियो । उहाँहरु नेपालमा लगानि गर्न चाहनुभएको छ ।
नेपालमा एफडीआईको लागि पनि पूर्व शर्त हो, शुसासन । गत बर्षको हाम्रो बार्षिक साधारणसभाको मुख्य थीम नै शुसासन थियो । हामीले गरेको सर्वेक्षणले शुसासन कायम नहुन विकासको मुख्य वाधकका रुपमा देखाएको हुँदा हामीले उक्त बिषय उठाएका थियौ ।
गत भदौँको युवाहरुको आन्दोलनको मुख्य बिषय पनि यही बन्यो । वर्तमान सरकार त्यसमा काम गरिरहेको छ, जुन स्वागतयोग्य छ । दिगो शुसासनका लागि दुई उपाय अवलम्बन गर्न सकिन्छ । पहिलो प्रविधिको उच्चतम प्रयोग । अहिले आर्टिफिसिएल इन्टिलिजेन्स संसारको स्वरुप नै परिवर्तन गर्ने गरि विकास भैरहेको छ । हामी सामान्य सुधारको माग गरिरहेका छौ । हामी चाहिरहेका छौ कि, नागरिक एपबाटै व्यवसाय दर्ता देखि सम्पूर्ण काम गर्न सकियोस । त्यसतर्पm सरकारले पहल गरोस् । यसमा निजी क्षेत्र र दातृ निकायको पनि सहयोग रहन्छ ।
शुसासन अभिवृद्धिका लागि दोस्रो काम सदाचारलाई बढावा दिनु हो । महासंघ सधै सदाचार र पादर्शितामा विश्वास गर्छ । सोही अनुसार काम गर्दै आएको छ । सरकारले पनि सोही अनुसार गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो । भूतप्रभावी कानुनहरुले अविश्वास बढाएको उदाहरण हामीसंगै छन् ।
माननीय अर्थमन्त्रीज्यू,
आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटलाई सुधारको प्रस्थानविन्दुका रुपमा ल्याउनु आवश्यक छ ।
हामी धेरै गर्न सक्छौ । अब निजी क्षेत्रले आर्थिक सुधारको नेतृत्व गर्नुपर्छ जस्तो मलाई लागेको छ । मैले गत बर्ष पनि भनेको थिएँ, स्रोतका लागि सरकारको मुख ताक्ने काम कम गर्नुपर्छ । हामीले योजना ल्याऔ, आफैँ मिलेर हामी कसरी काम गर्न सक्छौ, त्यसमा छलफल गरौं । स्थानिय र प्रदेश सरकारसँग सहकार्यका अवसर खोजौ ।
अब दातृ निकायको उपस्थिति पनि पहिले जस्तो रहनेछैन । म आग्रह गर्छु, निजी क्षेत्रको सम्मान समृद्धिको आधार नारालाई सबैतिर विस्तार गराँै । उपभोक्ता र अन्य सरोकारवालाप्रति हामी सचेत र जिम्मेवार हुनुपर्छ । म महासंघका सदस्यज्यूहरुलाई पनि आग्रह गर्न चाहन्छु, नयाँ चरणको सुधारका लागि सबै तह र तप्काबाट प्रयास गर्रौ । आवश्यक सहयोग महासंघले गर्नेछ ।
म प्रतिकुलतामा अनुकुलता खोज्ने व्यक्ति हुँ । म मेरो व्यवसायिक जीवनमा पनि अनेक चुनौतीका चाङहरुबाटै अवसर पहिल्याएर अघि बढ्दै यहाँसम्म आएको हुँ । त्यसैले म निराशा हैन आशा छर्न चाहन्छु । हिजोका दिनमा निजी क्षेत्रका अनेक मुद्धाहरुमा म सदैव व्यवसायीहरुकै साथमा रहेँ । र अझै पनि रहने छु ।
कोरोना महामारीले हामीलाई र हाम्रो अर्थतन्त्रलाइ नराम्ररी थला पार्यो । त्यतिबेला म आफैँ पनि विरामी थिएँ, तर पनि कालो अँध्यारो रातपछि सुनौलो बिहानी आउँछ भनेर माक्र्स लगाएर कर्म क्षेत्रमा जुट्न देशका सबै व्यवसायीहरुलाई प्रेरित गरेँ । एक दशक अघि भूकम्पले थला पारेको व्यवसाय क्षेत्रलाई उठाउन पनि त्यति सहज थिएन । हामीले धुलो टक्टकाउँदै उठ्ने प्रण गर्यौँ र उठ्यौँ पनि ।
हामीसँग धैर्यता छ, संयमता छ र अनेक झरी बादल झेलेर अघि बढ्न सक्ने प्रतिरोधी क्षमताको विकास भएको छ । यी प्रयास र प्रयत्नहरुलाई हामीले कायमै राखेका छौँ । त्यसैले त हामी हिजोभन्दा आज सबल छौँ र हाम्रो अवस्था अहिले थप सुधारोन्मुख छ ।
भोलिका दिनहरु थप सुनौला हुनेछन् भन्नेमा म विश्वस्त छु । त्यसै अनुरुप सकारात्मक सोच र सिर्जनात्मक कामका साथ निरन्तर अघि बढ्न म सबै उद्योगी, व्यवसायी साथीहरुलाई आग्रह गर्न चाहन्छु ।
धन्यवाद
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.