नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘कुलिङ अफ पिरियड’ को प्रावधानलाई लिएर संसदीय समितिले पेश गरेको प्रतिवेदनको मर्मअनुसार पार्टीले निर्णय लिने स्पष्ट पारेका छन्।
संसदको राज्यव्यवस्था तथा सुशासन समितिले उक्त प्रावधानमा देखिएको चलखेलप्रति गम्भीर आपत्ति जनाउँदै समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको छ। खतिवडाको भूमिकामाथि प्रश्न उठेपछि उनको राजीनामाको माग कांग्रेस पार्टीभित्र र बाहिर दुवै तर्फबाट चुलिँदै गएको छ।
खतिवडाको विषयमा पार्टीको धारणा प्रष्ट पार्दै महामन्त्री शर्माले भने, “समितिले प्रतिवेदनमा उल्लेख गरेका विषयहरूलाई आधार मानेर पार्टीले आवश्यक निर्णय लिन्छ।” उनले यो विषय पार्टीभित्र गम्भीर छलफलमा रहेको र प्रतिवेदनको मर्मअनुसार टुंगो लाग्ने जानकारी दिए।
खासगरी खतिवडा सभापतित्वमा रहेको समितिले सर्वसम्मत रूपमा ‘कुलिङ अफ पिरियड’ समावेश गर्ने निर्णय गरे पनि प्रतिनिधि सभाबाट पारित विधेयकमा भने त्योभन्दा फरक प्रावधान समावेश गरिएको थियो। सो विषयमा स्पष्टीकरण खोज्न संसदीय समिति गठन गरिएको थियो।
कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठित उक्त समितिले तयार पारेको प्रतिवेदन मंगलबार संसदमा पेस गरिएको छ, जसमा प्रक्रियागत त्रुटिको औँल्याउँदै जिम्मेवारीको माग गरिएको छ।
