काठमाडौँ — नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)माथि जनतालाई भ्रममा पार्ने गलत शैली अपनाएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको सोमबारको आकस्मिक समयमा बोल्दै घिमिरेले रास्वपा र राप्रपाले करिब ७० दिनदेखि निरन्तर ‘झुटो प्रचार’ गर्दै आएको भन्दै आपत्ति जनाए। उनले यसलाई “गोयवल्स शैली” भन्दै आलोचना गरे।
उनले संसदको गरिमा जोगाउन यस्ता कार्य तुरुन्त बन्द गर्नुपर्ने चेतावनी पनि दिए। “यदि यो क्रम रोकिने छैन भने, सम्पूर्ण सांसदहरू प्रतिकारमा उत्रिनुपर्ने अवस्था आउन सक्छ,” घिमिरेले भने।
सभामुख देवराज घिमिरेको ध्यान आकर्षण गराउँदै उनले संसदमा भ्रम फैलाउने कार्य रोक्न आवश्यक भएको बताए।
भिजिट भिसाको विषयमा टिप्पणी गर्दै घिमिरेले सोधे, “के भिजिट भिसा भनेको मानव तस्करी हो?” उनले रास्वपा र राप्रपाले यही विषयलाई लिएर लगातार संसद बहिष्कार र आरोपबाजी गरिरहेकोप्रति असन्तुष्टि जनाए।
साथै, उनले भिजिट भिसामा विदेश गएकामध्ये कुनै पनि सांसद फर्केर नआएको भन्ने आरोप निराधार भएको दाबी गरे।
प्रमुख सचेतक घिमिरेको भनाइले संसदमा भिजिट भिसा र वैदेशिक यात्रा विषयमा भइरहेका बहसमा थप गर्मी थपेको देखिएको छ।
