काठमाडौँ — नेकपा एमालेका सांसद अमृतलाल राजवंशीले शुक्लाफाँट राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्ष वरपरका बासिन्दा जबरजस्ती उठाएर असुरक्षित अवस्थामा राखिएको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभामा भूमि सम्बन्धी विधेयकमा धारणा राख्दै उनले सरकारले नै वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई भूमिहीन बनाएको बताएका हुन्। उनका अनुसार स्थानीयवासीलाई नम्बरी जग्गाबाट उठाएर अहिले सामान्य सुविधा पनि नपुग्ने अस्थायी टहरोमा राखिएको छ।
“न पानीको व्यवस्था, न बत्तीको सुविधा, घर टहरा चुहिने अवस्थासम्म पुगेको छ। जनताले पीडा भोगिरहेकालाई सरकारको वास्ता छैन,” राजवंशीले बताए।
उनले पीडितका पक्षमा प्रभावकारी विधेयक ल्याएर उचित व्यवस्थापनसहित बसोबासको व्यवस्था गरिनुपर्ने माग गरे।
त्यसैगरी, भूमि आयोगलाई काम गर्न नदिइएको भन्दै उनले असन्तुष्टि जनाए। “आयोगलाई हातखुट्टा बाँधेर राखिएको छ, यस्तो अवस्थामा काम अघि बढ्न सक्दैन,” उनले भने।
सांसद राजवंशीले सरकारले समस्या समाधानतर्फ चासो नदिए जनताको अधिकारमाथि गम्भीर चोट पुग्ने चेतावनीसमेत दिएका छन्।
