बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएपछि अब नयाँ नेताको चयन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ।
दलभित्र स्पष्ट रूपमा दुई धार देखिएको छ, जसमा दुवै पक्षले आ–आफ्ना उम्मेदवार तयार गर्न थालिसकेका छन्। लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि अहिले दलको नेतृत्वमा नयाँ प्रतिस्पर्धा सुरु भएको हो। उक्त प्रस्तावमा लामाको पक्षमा १५ र विपक्षमा २२ मत परेको थियो। यही समीकरण कायम रहेमा इन्द्र बानियाले नेतामा विजयी हुने सम्भावना बलियो देखिन्छ।
यद्यपि, लामाको पक्ष पनि निर्वाचनमा सहभागी हुने तयारीमा जुटेको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता तथा प्रदेशसभा सदस्य रामकृण चित्रकारका अनुसार बानियालाई सर्वसम्मत रूपमा दलको नेता बन्न नदिने रणनीति बनाइएको छ। उनले एकल उम्मेदवारी नहोस् भन्ने दिशामा पनि छलफल भइरहेको जानकारी दिए।
चित्रकारले मुख्यमन्त्री लामासमेत पुनः उम्मेदवार बन्न सक्ने संकेत गरे। उनका अनुसार हाल लामा समूहसँग १५ जना सांसद छन् र चुनावमा को उम्मेदवार बन्ने भन्नेबारे आन्तरिक छलफलपछि टुंगो लाग्नेछ।
“हामी अहिले १५ जना सांसदको साथमा छौँ। उम्मेदवारको टुंगो सामूहिक छलफलबाट लगाउनेछौँ,” चित्रकारले भने।
यसरी बागमती कांग्रेस संसदीय दलमा अब नेतृत्व चयनको प्रक्रिया रोचक चरणमा प्रवेश गरेको छ। दुवै पक्ष आफ्नो रणनीति अनुसार अघि बढिरहेका छन्।
