नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले नेतृत्व गरेका स्थानीय तहहरू अन्यको तुलनामा प्रभावकारी रूपमा सञ्चालन भएको दाबी गरेका छन्।
मंगलबार ललितपुरमा माओवादी समाज कल्याण विभागद्वारा आयोजित ‘सामाजिक न्याय, समावेशिता र सामाजिक संघसंस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय तहमा पार्टीको हस्तक्षेप नगरी इमान्दार काम गर्ने वातावरण बनाइएको बताए।
“स्थानीय तहहरू योजनाबद्ध ढंगले अघि बढे अझ उत्कृष्ट परिणाम देखिन सक्छ,” प्रचण्डले भने, “तर अपारदर्शी संरचनाले आर्थिक चलखेललाई बढावा दिएको छ, त्यसलाई इमानदारीपूर्वक नियन्त्रण गर्न आवश्यक छ।”
उनले देशको राजनीति र सामाजिक संघसंस्थाहरूमा माओवादीको नीति अनुसार सकारात्मक हस्तक्षेप आवश्यक रहेको धारणा राखे। साथै, सरकारको नेतृत्वमा रहँदा सामाजिक संघसंस्थाको बजेटलाई सरकारी बजेटसँग मेल खाने गरी पारदर्शी बनाउन पहल गरिएको दाबी पनि गरे।
