नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनले ल्याएको ऐतिहासिक परिवर्तनलाई कमजोर पार्न एक वर्ग सक्रिय रहेको बताएका छन्।
पार्टीको समाजकल्याण विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मंगलबार बोल्दै प्रचण्डले माओवादीको इतिहास नष्ट गर्न केही समूहले न्वारनदेखिको बल लगाइरहेको टिप्पणी गरे।
उनका अनुसार माओवादी आन्दोलनले ल्याएको परिवर्तनको मूल्य र महत्वलाई खण्डन गर्न नियोजित रूपमा षड्यन्त्र भइरहेको छ। “हाम्रो इतिहास मेटाउने, योगदानको महत्त्व समाप्त पार्ने कोसिस भइरहेछ,” उनले भने, “तपाईंहरूले पनि यसतर्फ ध्यान दिनुभएको हुनुपर्छ।”
प्रचण्डले माओवादीले गरेका सकारात्मक कार्यहरूलाई मान्यता दिन कतिपय तत्वहरू तयार नरहेको उल्लेख गर्दै, माओवादी नेताकार्यकर्ताहरूले जुनसुकै संस्थामा सहभागी भए पनि आफूलाई स्थापित गर्न सक्ने खालको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
उनले थपे, “हाम्रा साथीहरू जहाँ छन्, ती संस्था उदाहरणीय हुनुपर्छ। समाजकल्याणका संघसंस्थामा हाम्रो उपस्थिति जनताले छुट्टै रूपमा महसुस गर्न सक्ने बनाउनु आवश्यक छ। पार्टीको निर्णयअनुसार तल्लो तहसम्म एउटै धारणा बन्नुपर्छ।”
