काठमाडौं मोडल कलेज (केएमसी) मा अध्ययनरत एक छात्रा ‘सुरक्षा’ (नाम परिवर्तन) पछिल्लो केही महिनायता कलेजको कठोर अनुशासन प्रणालीका कारण मानसिक रूपमा अत्यधिक तनावमा पुगेकी छिन्। अनुशासनका नाममा दिइएको यातना न त उनी कसैसँग खुलेर बोल्न सकिरहेकी छिन्, न त चुप लागेर सहनै सकिरहेकी छिन्।
उज्ज्वल भविष्यको सपना बोकेर उत्साहित हुँदै कलेज भर्ना भएकी सुरक्षा प्रारम्भमा सबै कुरा सामान्य हुने आशामा थिइन्। तर केही महिनादेखि कलेजको अनुशासन इन्चार्जद्वारा अरु विद्यार्थीको सामु सर्ट खोल्न लगाइयो, भित्री वस्त्र समेत निकाल्न दबाब दिइयो। ‘अनुशासनका नाममा दिनहुँ शरीर खानतलासी, झोलाबाट सामान निकाल्न लगाउने, पोशाक खोल्न कर गर्ने व्यवहारले आफूलाई अपमानित महसुस भयो,’ उनी भन्छिन्।
यो दुर्व्यवहार भोग्ने केवल सुरक्षा मात्र होइनन्। अन्य विद्यार्थीले पनि सुरुमा आवाज उठाए तर कलेज प्रशासनले दबाब र प्रभावमा पारेर ती आवाज थाम्न खोजेको आरोप उनीहरूको छ। कलेजले पीडित विद्यार्थीहरूको मानसिक स्थितिमा समेत प्रश्न उठाउन थालेको र उनीहरूलाई ‘मानसिक रूपमा कमजोर’ देखाउन खोजिएको पीडितहरू बताउँछन्।
परिवारको साथ सुरुमा पाएकी सुरक्षा अहिले परिवार नै मौन भएपछि झनै तनावमा छिन्। सामाजिक इज्जतको डरले परिवार पनि चुप रहेको उनको बुझाइ छ। ‘कहिलेकाहीँ बाँच्न पनि मन लाग्दैन,’ उनी भन्छिन्।
यसैबीच, कलेज प्रशासनले पुराना विद्यार्थीहरूलाई पनि यस्तै अपमानजनक व्यवहार गर्दै आएको विवरण बाहिर आएको छ। केही समयअघि एक छात्रको मोबाइल खोसेर प्रशासनले कलेजमै राखेको थियो। डरका कारण ती विद्यार्थी घर जानै सकेनन् र साथीको घरमा लुकेर बसेका थिए।
शिक्षाविद्हरू र मानवअधिकारकर्मीहरू भन्छन्— अनुशासनको नाममा गरिने खानतलासी वा व्यवहारले यदि गरिमा र गोपनीयताको उल्लंघन गर्छ भने त्यो मानसिक हिंसाको दायरा अन्तर्गत पर्दछ। भारतको केआईआईटी (कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी) मा यस्तै दुर्व्यवहार सहन नसकेर दुई विद्यार्थीले आत्महत्या गरेको उदाहरण स्मरणीय छ।
यो समाचार हुलाक सञ्चारमा प्रकाशित सामग्रीमा आधारित छ।
