काठमाडौँ । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भइरहेको सुक्खा बन्दरगाह परियोजनामा आएको बाढीले करिब १ अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको छ । गत असार २४ गते चीनतर्फबाट आएको हिमतालको बाढीका कारण उक्त बन्दरगाहको ५५ प्रतिशत संरचना तहसनहस भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
परियोजना निर्माणमा संलग्न रसुवा सुक्खा बन्दरगाह निर्माण कम्पनी (तिब्बत फुली कन्सट्रक्स) का प्रोजेक्ट मेनेजर याङ ली र समितिका कार्यकारी निर्देशक आशिष गजुरेलबीच चोभारस्थित कार्यालयमा सोमबार छलफल भएको थियो । छलफलका क्रममा प्रोजेक्ट मेनेजर लीले ४ सय मिटरको रिटेन्सन पर्खाल पूर्ण रुपमा भत्किएको, २५० गाडी अट्ने पार्किङको कन्क्रिट प्लेट भत्किएको, २ वटा गोदाममा माटो र ढुंगाले क्षति पुर्याएको र लोडिङ/अनलोडिङ सेड, व्याचिङ प्लान्टलगायत संरचना नष्ट भएको जानकारी गराएका छन् ।
सबैभन्दा दुःखद पक्ष के रह्यो भने सो घटनामा २२ जनाको ज्यान गएको छ । तीमध्ये १४ जना चिनियाँ र ८ जना नेपाली कामदार रहेको पुष्टि गरिएको छ ।
भौतिक संरचनाहरू मध्ये प्रशासनिक भवन बाहेक सबैमा क्षति भएको जनाइएको छ । बाँकी संरचना पुनःनिर्माण गर्नसमेत चुनौती देखिएको छ । लीका अनुसार भूगोल, मौसम र भौतिक अवस्थालाई हेर्दा सो ठाउँ सुक्खा बन्दरगाहका लागि उपयुक्त देखिएको छैन र नयाँ स्थानको छनोट गर्नुपर्ने आवश्यकतासमेत उनले औंल्याएका छन् ।
उक्त परियोजना चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २ अर्ब १६ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको हो । छलफलमा नेपाल सरकारको तर्फबाट गजुरेलले मन्त्रालयसँग परामर्श गरी अगाडिको कार्ययोजना तय गरिने र दुई देशबीचको वार्ताको आधारमा पुनःनिर्माण प्रक्रिया अघि बढाइने बताए ।
यस घटनाले ठूला पूर्वाधार आयोजना बनाउँदा वातावरणीय जोखिमको समिक्षा र वैकल्पिक योजना निर्माण कति आवश्यक छ भन्ने गम्भीर सन्देश दिएको छ ।
