संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थाबारे संसदीय विशेष छानबिन समितिले अब मुलुकका तीन प्रमुख नेतासँग प्रत्यक्ष छलफल गर्ने तयारी गरेको छ।
छानबिन समितिले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर दुई महत्वपूर्ण प्रश्न राख्ने योजना बनाएको छ।
छलफलमा सोधिने दुई प्रश्न यस्ता छन्:
-
कुलिङ अफ पिरियडबारे तपाईंको धारणा के हो?
-
समितिलाई तपाईंको के सुझाव छ?
तीन नेताबाट प्राप्त हुने प्रत्यक्ष अभिव्यक्ति रेकर्ड गरी समितिको प्रतिवेदनमा समावेश गरिनेछ। छानबिन समितिको विश्वास छ, शीर्ष नेताहरूको धारणा राष्ट्रिय सभाको निर्णय प्रक्रियामा समेत सहायक बन्नेछ।
हाल प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा विचाराधीन अवस्थामा छ। तर, यस विधेयकमा उल्लेख भएको कुलिङ अफ पिरियडको कार्यान्वयनबारे प्रश्न उठेपछि संसद्ले विशेष छानबिन समिति गठन गरेको हो।
राष्ट्रिय सभामा उक्त व्यवस्थालाई पूर्णरूपमा हटाउने संशोधन प्रस्ताव समेत दर्ता भइसकेको छ। विशेष कुरा त के छ भने, यो संशोधन प्रस्ताव सरकार सञ्चालन गरिरहेको दल नेकपा एमालेकै सांसदहरूले पेश गरेका हुन्।
छानबिन समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली, र राप्रपाबाट रोशन कार्की रहेका छन्।
सभामुख देवराज घिमिरेले असार २३ गते समिति गठन गर्दा २१ दिनको समय दिएका थिए। तर, कार्यसम्पादनका लागि त्यो अवधि नपुग्ने देखिएपछि थप ७ दिन समय दिइएको छ। अब समितिले साउन १९ गतेभित्र अन्तिम प्रतिवेदन बुझाउनु पर्नेछ।
