नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गुल्मी जिल्ला कमिटीले गुल्मी–काठमाडौं सम्पर्क मञ्चसम्बन्धी माओवादी केन्द्रद्वारा गरिएको दाबीप्रति गम्भीर आपत्ति जनाएको छ।
आइतबार जारी गरिएको विज्ञप्तिमा नेकपाले “गुल्मी जिल्ला सम्बद्ध कुनै पनि सम्पर्क मञ्च काठमाडौंमा छैन” भनेर स्पष्ट पारेको छ। साथै, माओवादी केन्द्रमा प्रवेश गरेको भनिएका व्यक्तिहरू पार्टीका कुनै पनि तहको कमिटी, निकाय वा साधारण सदस्यसमेत नरहेको जनाएको छ।
विज्ञप्तिमा माओवादी केन्द्रमाथि नेकपाको लोकप्रियतालाई कमजोर पार्न झुटा प्रचार गर्न थालेको आरोप लगाइएको छ। “वैचारिक रूपमा पतन भइसकेको र विभिन्न तहमा बदनाम भइसकेको माओवादी केन्द्रले नेकपाप्रति जनताको बढ्दो आकर्षण देखेपछि भ्रम सिर्जना गर्ने गतिविधि थालेको देखिन्छ”, विज्ञप्तिमा उल्लेख छ।
नेकपाले यस्ता भ्रामक प्रचारको खण्डन गर्दै गुल्मीका जनतालाई झुक्याउने प्रयासमा नपर्न आग्रह गरेको छ।
विज्ञप्तिमा नेकपा गुल्मी जिल्ला सचिव बसन्त सी र जिल्ला इन्चार्ज खोमा सीको हस्ताक्षर रहेको छ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले विप्लव समूहको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको बताएको थियो। सचिवालयका अनुसार वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशव राज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवी प्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटा लगायत नेताकार्यकर्ताहरू माओवादी प्रवेश गरेको जनाइएको थियो।
