बागमती प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको नेतृत्वमा परिवर्तनको माग उठ्दैछ। दलका नेता एवं वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध २१ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
आइतबार संसदीय दलको कार्यालयमा दर्ता गरिएको उक्त प्रस्तावमा हालै राजीनामा दिएका चारजना मन्त्रीसमेत हस्ताक्षरकर्ता रहेका छन्।
अविश्वास प्रस्तावको अगुवाइ प्रदेशसभाका वरिष्ठ नेता इन्द्र बानियाँले गरेका हुन्। प्रस्तावमा हस्ताक्षर गर्ने अन्य सांसदहरूमा शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विन्दु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, उर्मिला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, यदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने र सुना परियार रहेका छन्।
लामाविरुद्धको यो कदम नेपाली कांग्रेसका शीर्ष नेताहरू शेरबहादुर देउवा, गगन थापा र प्रकाशमान सिंह समूहको सक्रियतामा अघि बढाइएको बुझिएको छ।
बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद छन्। अब दलभित्रको आन्तरिक शक्ति सन्तुलन र नेतृत्व परिवर्तनको बहस निर्णायक चरणमा पुगेको संकेत देखिएको छ।
