उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदहस्थित क्षेत्रका लागि करिब ८० अर्ब रुपैयाँको लागतमा तयार पारिएको पूर्वाधार गुरुयोजना सार्वजनिक गरेका छन्।
रुपन्देहीको लुम्बिनीमा आयोजित एक समारोहमा अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्याससँगै उक्त गुरुयोजना सार्वजनिक गर्दै मन्त्री पौडेलले विश्वविद्यालयलाई उच्चस्तरीय शिक्षाको केन्द्र बनाउने लक्ष्यमा अग्रसर हुनुपर्नेमा जोड दिए। उनले भने, “गुणस्तरीय शिक्षालाई प्रवर्द्धन गर्दै लुम्बिनीलाई शैक्षिक पर्यटनको प्रमुख गन्तव्य बनाउनु अहिलेको आवश्यकता हो। गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा विश्वविद्यालयले सक्रियता देखाउनुपर्छ, सरकारबाट सबै प्रकारको सहयोग हुनेछ।”
सन् २०७७ मा सरकारले विश्वविद्यालयलाई देवदह क्षेत्रमा करिब ९२ बिघा जमिनको भोगाधिकार दिएको थियो। सोही क्षेत्रमा केन्द्रित भएर तयार गरिएको गुरुयोजनालाई प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा असार ३२ गते बसेको विश्वविद्यालयको आठौँ सभा बैठकले औपचारिक स्वीकृति दिएको हो।
समारोहमा विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले त्रिपिटक पार्क र देवदह शिक्षा विकास परियोजनाजस्ता कार्यक्रममार्फत शैक्षिक पर्यटन प्रवर्द्धन गर्ने योजना सुनाए। साथै, रजिष्ट्रार डा. तिलकराम आचार्यले देवदहको जग्गा प्राप्तिमा भोगेका चुनौतीहरूको उल्लेख गर्दै गुरुयोजनाको कार्यान्वयनपछि विश्वविद्यालयलाई राष्ट्रिय स्तरको उत्कृष्ट शिक्षण संस्था बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा रुपन्देहीको खडैयामा निर्माण हुने १२ करोड ८३ लाख रुपैयाँ लागतको अन्तर्राष्ट्रिय छात्रावासको पनि घोषणा गरिएको छ, जसमा एक सय विद्यार्थी अट्नेछन्। सो छात्रावास २० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
हाल विश्वविद्यालयमा झण्डै ३ हजार विद्यार्थी अध्ययनरत छन्, जसमा दुई सयभन्दा बढी विदेशी नागरिक रहेका छन्। विश्वविद्यालयले भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा लुम्बिनी र बुद्धको नाममा आफ्नो पहिचान फैलाउने लक्ष्य लिएको जनाएको छ।

