नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले देशमा कम्युनिष्ट नेतृत्वको सरकार रहँदासमेत ठोस परिणाम देखिन नसकेको जनाउँदै, जनतामा निराशा बढ्दै गएको बताए।
उनका अनुसार, “कम्युनिष्ट नेताको नेतृत्वमा सरकार छ तर जनताको जीवनमा सुधार आएको छैन। विकासका काममा गति छैन, जनताले अनुभूति गर्ने गरी काम हुन सकेको छैन।”
कार्यक्रममा बोल्दै उनले समाजमा विद्यमान छाउपडी प्रथा हटाउन अझै नसकिएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले भने, “आज पनि छाउपडीका कारण महिलाको ज्यान जान्छ भने त्यो हाम्रो समाजको दुर्भाग्य हो। कम्युनिष्ट पार्टीहरू त्यही ठाउँमा हुँदा पनि परिवर्तनको पहल गरिँदैन भने त्यो दुर्भाग्यपूर्ण हो।”
पूर्वप्रधानमन्त्री नेपालले देशको आर्थिक नीतिबारे गहिरो बहस आवश्यक रहेको धारणा राखे। “हाम्रो मुलुकमा कस्तो खालको अर्थतन्त्र अपनाउने भन्ने विषयमा खुलेर छलफल गरिनुपर्छ,” उनले जोड दिए।
साथै उनले छुवाछुत, छाउपडी लगायतका सामाजिक कुप्रथाको अन्त्यका लागि जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए।
