मकवानपुरमा आर्थिक वर्ष २०८१/८२ मा भएका ४०७ वटा सवारी दुर्घटनामा ५० जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ती दुर्घटनामा १६३ जना गम्भीर घाइते र ८०२ जना सामान्य घाइते भएका छन् ।
प्रहरीले अपराध नियन्त्रण र विभिन्न अभियानअन्तर्गत १ हजार ७५ मुद्दामा ९२८ जनालाई पक्राउ गरेको छ । तीमध्ये लागू औषध सम्बन्धी १८८ मुद्दामा २८९ जनालाई पक्राउ गरिएको छ, जसमा २७६ नेपाली र १३ विदेशी रहेका छन् । प्रहरीले सो अवधिमा ६ हजार ४ किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेस, २६ किलो ८८० ग्राम अफिम, ९५ हजार थानभन्दा बढी लागुऔषध ट्याबलेट तथा अन्य मादक पदार्थ बरामद गरेको छ ।
अवैध भन्सार छली नियन्त्रणका क्रममा १६ करोड १७ लाख रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ । यसअन्तर्गत लत्ता कपडा, सुन–चाँदी, सवारी साधन र अवैध मुद्रा बरामद भएका छन् । सवारी कारबाहीबाट मात्रै २ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत १८३ जना पक्राउ गरी ९९ वर्षभन्दा बढी कैद र १ करोड २१ लाख जरिवाना असुल गरिएको छ ।
गिट्टी–बालुवा उत्खनन नियन्त्रणमा १९५ कारबाही गरी ११ लाखभन्दा बढी राजस्व संकलन गरिएको छ । मापसेमा ८४४ जना र लागू पदार्थ सेवनमा २१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
यस अवधिमा प्रहरीले १२० बिगाहा ४ कट्ठा गाँजा र ३९ बिगाहा १४ कट्ठा अफिम खेती नष्ट गरेको जनाएको छ ।
