प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का अध्यक्ष चेन सियाओदोङ्गको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले सोमबार बालुवाटारमा शिष्टाचार भेट गरेको छ ।
भेटमा दुई देशबीचको मित्रवत् सम्बन्ध, सोमबार अर्थ मन्त्रालयमा सम्पन्न चार समझदारी, अघिल्ला उच्चस्तरीय भ्रमणहरूमा हस्ताक्षर भएका विकास सहकार्यसम्बन्धी सम्झौता कार्यान्वयनलगायत विषयमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको पुरानो मित्रता र नेपालले पालन गर्दै आएको ‘एक चीन नीति’प्रति प्रतिबद्धता पुनः दोहोर्याए । साथै, हालैको बाढीले क्षति पुर्याएको रसुवागढी नाकाको पुनर्निर्माणमा चीनले देखाएको सक्रियताका लागि धन्यवाद दिँदै, नेपालले पनि त्यसमा तदारुकता देखाइरहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाललाई भू–अवरोधित अवस्थाबाट भू–जडित बनाउने दिशामा चीनसँगको किमाथांका र अन्य नाकाहरू सञ्चालनमा ल्याउनुपर्ने र बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरू अवरोधबिना अघि बढ्नुपर्नेमा जोड दिए ।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, चीनका राजदूत चेन सोङ र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।
यसअघि, प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि भेट गरी चीनको सहायतामा सञ्चालित तथा आगामी दिनमा कार्यान्वयन गरिने परियोजनाबारे छलफल गरेको थियो । सो अवसरमा चार परियोजनाका समझदारीपत्रमा हस्ताक्षरसमेत भएको थियो ।
