नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा (एमाले) ले कांग्रेसको मुटु र मूल्यमान्यतामाथि निरन्तर आक्रमण गरिरहेको आरोप लगाएका छन् ।
काठमाडौंको बसुन्धरामा आयोजित ४३ औं बीपी स्मृति दिवसको अवसरमा बोल्दै उनले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषदसम्बन्धी विधेयकमा एमालेले कांग्रेसको सिद्धान्तमाथि प्रहार गरेको बताए ।
कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै निर्वाचन प्रणाली, भूमि विधेयक र भ्रष्टाचारमा चुपचाप बस्नु कांग्रेसको कमजोरी भएको टिप्पणी गरे । उनले संवैधानिक परिषद्, भूमि विधेयक र मन्त्रीहरूको जवाफदेहीतामा पार्टीको निष्क्रियता देखिएको भन्दै आलोचना गरे ।
एमालेले भूमि विधेयकलाई समितिमा छलफल गराउन नचाहेको आरोप लगाउँदै कोइरालाले हतारमा विधेयक पारित गर्न खोज्नु शंकास्पद भएको बताए ।
कर्मचारी अवकाशपछि दुई वर्षको कुलिङ पिरियडको सहमतिलाई एमाले सांसदहरूले संशोधनमार्फत हटाउन खोज्नु कांग्रेसको मूल्यमान्यतामाथिको चोट भएको कोइरालाको भनाइ थियो ।
उनले सभापति देउवालाई प्रधानमन्त्रीसँग स्पष्ट धारणा राख्न सुझाव दिँदै कांग्रेसभित्रै पनि नेतृत्वको कमजोरी स्वीकार गर्नुपर्ने धारणा राखे ।
कांग्रेसभित्र आत्मसमीक्षा र दृढ अडान आवश्यक रहेको उल्लेख गर्दै उनले पार्टीको नीति, विचार र पहिचानमाथि आँच आउन नदिन सबै तहबाट सतर्कता अपनाउन आह्वान गरे ।
