सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कानुन उल्लंघन गर्ने जो कोही भए पनि कारबाही प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् ।
बुधवार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रष्टाचार प्रकरणमा संलग्न ठहरिने व्यक्तिलाई सरकार कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे उठेका प्रश्नमा मन्त्री गुरुङले गुप्ताले नैतिकताको आधारमा राजीनामा गरिसकेको र नयाँ मन्त्रीले कार्यभार सम्हालेको जानकारी दिए ।
उनले भने, ‘प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिने काम भइसकेको छ । अनुसन्धानको प्रक्रिया अघि बढ्छ र दोषी ठहरिए कानुनी कारबाही हुन्छ ।’
सरकार सत्य र प्रमाणका आधारमा अघि बढ्ने बताउँदै उनले नेपाललाई भ्रष्टाचारमुक्त बनाउन सबैले जिम्मेवारी वहन गर्नुपर्ने धारणा राखे ।
मन्त्री गुरुङले थपे, ‘भ्रष्टाचारमा जो भए पनि — चाहे मन्त्री होस्, चाहे सचिव — कारबाहीबाट उम्कन सक्दैन ।’
