पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री रास्वपाका नेता रबि लामिछाने कारागारमा रहँदा देखिएको अमानवीय अवस्थाबाट मर्माहित भइ कैदीबन्दीका लागि राहत जुटाउन सक्रिय बनेका छन्। उक्त मानवीय प्रेरणाबाट प्रभावित हुँदै लायन्स क्लब अफ सेन्टिनियलले रुपन्देही जिल्ला कारागारमा २१ वटा सिलिङ फ्यान हस्तान्तरण गरेको छ।
कारागारको २५० जनाको क्षमतामा ६०० बढी कैदीहरु कोचिएर बस्नुपर्ने अवस्था, चर्को गर्मी र असह्य बन्द वातावरणबारे लामिछानेले भनाइ व्यक्त गर्दै, “४४ डिग्रीभन्दा बढी गर्मीमा टिनको छाना र साँघुरा कोठामा कैदीहरू भेडाबाख्राजस्तै थिचिएर छन्,” भन्दै गहिरो चिन्ता व्यक्त गरेका थिए।
त्यसपछि लामिछानेसहितको टोलीले कारागार प्रमुखसँग सल्लाह गरी तत्काल राहतस्वरूप पंखा उपलब्ध गराउने योजना अघि सारेको थियो। प्रमुखले ‘कम्तिमा २० वटा सिलिङ फ्यान राख्न सकिए कैदीहरूलाई ठूलो राहत मिल्ने’ सुझाव दिएपछि त्यसैअनुसार पहल अघि बढाइएको थियो।
यो खबर सार्वजनिक भएपछि लायन्स क्लब अफ सेन्टिनियलका अध्यक्ष लायन बिपिन साह, पूर्व अध्यक्ष लायन भोजराज बस्याल लगायतका सम्पूर्ण सदस्यहरू एक स्वरमा सहयोगमा उत्रिए। “२० होइन, २१ वटा नै राखौँ,” भन्ने निर्णयसहित क्लबका पूर्व अध्यक्षहरूले १–१ वटा पंखा दिने घोषणा गरे भने अन्य सदस्यहरूले पनि तत्काळ साथ दिए।
यस अभियानमा रास्वपाकी बहिनी सुनयना केसी र सुमन न्यौपानेले पनि १–१ वटा पंखा सहयोग गरेका छन्।
२०७९ असार २५ गते सम्पन्न हस्तान्तरण कार्यक्रममा PMJF लायन बलराम ज्युको प्रमुख आतिथ्यता र 2nd Vice District Governor PMJF लायन मिना पन्थी ज्युको गरिमामय उपस्थितिमा ती २१ वटा पंखा कारागारलाई औपचारिक रूपमा हस्तान्तरण गरियो।
कार्यक्रम संयोजक लायन भोजराज बस्यालले यो सहयोगलाई “मानवताको सानो तर महत्वपूर्ण योगदान” भन्दै प्रस्तुत गरे।
यो पहल कुनै सामान्य सहयोग मात्र नभई मानवीय संवेदना र करुणाको प्रतिक बनेको सहभागीहरूको भनाइ छ। लामिछानेले आफनो व्यक्तिगत पीडा भित्रै राखेर अरुको पीडालाई उजागर गर्ने असल मन देखाएको सहभागीहरूको साझा अनुभव थियो।
लामिछानेको नेतृत्वमा यस्ता मानवीय कार्यहरूले राज्यबाट उपेक्षित वर्गलाई न्यायको अनुभूति दिलाउने अपेक्षा गरिएको छ।
लायन्स क्लब अफ सेन्टिनियलका सबै समर्पित सदस्यहरूलाई, सहयोगी मनहरूलाई र यस प्रेरणाको स्रोत बनेका रबि लामिछानेलाई – हार्दिक सम्मान र धन्यवाद।
