रौतहटको चर्चित बम विस्फोट तथा ईंटाभट्टा घटनामा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुरले सफाइ दिएपछि घटनामा पीडित पक्षको स्वर फेरि एकपटक सार्वजनिक रूपमा उठेको छ।
भारत बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम काठमाडौं आइपुगेका छन् र उनले आफूमाथि भएको विभत्स घटनाको विवरण मिडियामार्फत सार्वजनिक गरिरहेका छन्।
उनले आफू २०६४ सालको संसदीय निर्वाचनको पूर्वसन्ध्यामा बम बनाउने क्रममा घाइते परेका मध्ये एक रहेको दाबी गर्दै आएका छन्। बम विस्फोटपछि आफूसहित अन्य घाइतेहरूलाई उपचारको सट्टा जिउँदै इँटाभट्टामा हालेर जलाइएको घटनाले देशभर चर्चा पाएको थियो।
उनको भनाइ अनुसार, न्यायको आशमा १६ वर्षसम्म पर्खिए पनि अहिले उच्च अदालतको फैसलाले पीडितहरूमा गहिरो पीडा थपिएको छ। ‘सत्य अझै पनि जीवित छ,’ उनले भनेका छन्।
उनको आगमनसँगै उक्त घटनाबारे फेरि बहस सुरु भएको छ भने राजनीतिक संरक्षण, पीडितको न्याय र प्रमाणको औचित्यमाथि प्रश्न उठ्न थालेका छन्।
