प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति आइतबार दिउँसो १ बजे बैठकमा बस्ने भएको छ। समितिले जानकारी दिएअनुसार बैठकको कार्यसूचीमा शिक्षा विधेयक र बाँकी रहेका विषयमा छलफल केन्द्रित हुनेछ।
शिक्षक पदपूर्तिसम्बन्धी विषयमा अझै स्पष्ट सहमति जुट्न सकेको छैन। यसअघि समितिले आन्तरिक प्रतिस्पर्धाबाट ६० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ४० प्रतिशत शिक्षक पदपूर्ति गर्ने प्रस्तावमा सहमति बनाएको थियो। तर नेपाल शिक्षक महासंघले उक्त प्रस्तावमा असहमति जनाउँदै ७५ प्रतिशत पदपूर्ति आन्तरिक प्रतिस्पर्धाबाट र २५ प्रतिशत खुलाबाट गर्नुपर्ने अडान राख्दै आएको छ।
यही मतभेदका कारण शिक्षा विधेयक पारित प्रक्रिया अड्किएको हो। सहमति नजुटेपछि प्रमुख सचेतक श्याम घिमिरे र शिक्षामन्त्री रघुजी पन्तको प्रस्तावमा असार १७ गतेको बैठकबाट विधेयक प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको थियो।
आजको बैठकमा समाधानको पहल हुने अपेक्षा गरिएको छ।
