भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ मा एकै परिवारका चार सदस्यको विभत्स हत्या भएको छ। आइतबार बिहान गिरी परिवारको घरमा सासू–ससुरा, श्रीमती र सालेको शव फेला परेको हो।
स्थानीयले दिएको जानकारी अनुसार घटनाको अघिल्लो साँझ परिवारभित्र कुखुरा काटेर खाने तयारी भइरहेको थियो। तर बिहान घरमा कुखुरो जिउँदो भेटिए पनि घरका सबै सदस्य मृत अवस्थामा फेला परे।
प्रहरीका अनुसार ३० वर्षीय राजेन्द्र राईले आफ्नी श्रीमती मनिषा गिरीसहित उनका बुवा बेलबहादुर गिरी, आमा मञ्जु गिरी र भाइ सपन गिरीको हत्या गरेका हुन्।
घटनापछि राजेन्द्रले आफैं प्रहरीलाई फोन गरेर आफूले मानिस मारेको जानकारी गराएका थिए। घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि धरान पठाइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, राजेन्द्रले आफूभन्दा झण्डै दोब्बर उमेरकी मनिषासँग भागी विवाह गरेका थिए। विवाहपछि निरन्तर हिंसा र लागुऔषध दुर्व्यसनमा रहेका कारण मनिषा ससुराल छाडेर माइती घर फर्किएकी थिइन्।
पन्ध्र दिनअघि श्रीमतीलाई लिन ससुराली पुगेका राजेन्द्रले धम्की दिँदै मनिषालाई फकाउने प्रयास गरिरहेका थिए। छिमेकीका अनुसार उनले “तिमी नआए तिम्रो परिवारै सिध्याइदिन्छु” भन्ने धम्कीसमेत दिएका थिए।
मनिषाले आफ्नो असुरक्षाको कुरा प्रहरी वा अन्य जिम्मेवार निकायमा नगएकोले, परिवारका सदस्यहरू चुपचाप बसिरहे। यिनै चुप्पी र सहनशीलताको परिणाम स्वरूप यो भयावह हत्याकाण्ड भएको स्थानीय जनप्रतिनिधि तथा प्रहरी अधिकारीहरूको बुझाइ छ।
घटनापछि गाउँ त्रसित बनेको छ। प्रहरीले विस्तृत अनुसन्धान अगाडि बढाएको छ भने शवहरू पोस्टमार्टमका लागि पठाइएको छ। अभियुक्त राजेन्द्रको दुवै विवाह सरकारी रूपमा दर्ता नभएको र पहिलो विवाहसमेत टुटेको जानकारी वडाध्यक्ष प्रसाद तामाङले दिएका छन्।
स्थानीय जनप्रतिनिधिहरूले घरेलु हिंसा वा मानसिक यातनाको अवस्था भएमा चुप लागेर नबस्न र सम्बन्धित निकायमा आवाज उठाउन आग्रह गरेका छन्।
