सर्वोच्च अदालतले आठ वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट गर्दै न्याय सम्पादनमा उल्लेखनीय प्रगति गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातमा रहेका ३०९ वटा ८ वर्ष पुराना मुद्दामध्ये हाल सबै टुंगोमा पुगेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिएका छन्।
उनका अनुसार तीमध्ये दुई मुद्दाको सुनुवाइ सकिएर असार २४ गतेका लागि फैसला सुनाउने मिति तोकिएको छ। अब सर्वोच्चमा ७ वर्ष पुराना १८२ र ६ वर्ष पुराना ४३४ मुद्दा मात्र बाँकी रहेका छन्।
प्रवक्ता कुइँकेलका अनुसार, आगामी वर्षभित्र सात वर्ष पुराना मुद्दाहरू पनि शून्यमा झार्ने लक्ष्य लिइएको छ। न्यायाधीशहरूको २०७९ असारमा बसेको पूर्ण बैठकले २०८३ सालसम्म ५ वर्षभन्दा पुराना मुद्दाहरू फर्छ्यौट गर्ने कार्ययोजना पारित गरेको थियो।
त्यसअनुसार, २०८१ साउन १ गतेदेखि सुरु भएको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाले सर्वोच्च अदालतमा ५ वर्ष, उच्च र जिल्ला अदालतमा २ वर्ष नाघेका मुद्दा शून्यमा ल्याउने र जुनसुकै मुद्दाको टुंगो १८ महिनाभित्र लगाउने लक्ष्य राखिएको छ।
यो योजनाले अदालतमा रहेका पुराना मुद्दाहरूलाई समाधानतर्फ डो-याएर नागरिकमा न्यायमा पहुँच र विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
