संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौगोलिक क्षेत्र साँघुरो भएकाले सेवा प्रवाहमा चुनौती देखिएको बताएका छन्।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले विमानस्थल, टर्मिनल भवन र अन्य संरचना एक–आपसमा नजिकै भएकाले यात्रुहरू विमानबाट ओर्लिएपछि छिट्टै टर्मिनल भवनमा पुग्ने र लगेज ल्याउन समय लाग्दा प्रतीक्षा लामो भएको जस्तो भान पर्ने अवस्था देखिएको बताए।
उनका अनुसार अन्य देशका विमानस्थलमा जहाजबाट ओर्लिएर टर्मिनलसम्म आइपुग्नै समय लाग्ने भए पनि त्रिभुवन विमानस्थलको संरचना साँघुरो भएकाले यात्रु तुरुन्तै भवनमा पुग्ने गर्छन्, जसले प्रतीक्षालाई अझ बढी महसुस गराउँछ।
मन्त्री पाण्डेले त्रिभुवन विमानस्थलको वार्षिक क्षमता ४५ लाख यात्रुका लागि भए पनि अहिलेको अवस्थामा ९५ लाख यात्रु ओहोरदोहोर गरिसकेको जानकारी दिए।
त्यसैगरी, उनले मानसरोवर यात्रा गर्न चाहने पर्यटकहरूलाई चीनले भिसा प्रमाणीकरण (verification) सम्बन्धी नयाँ नियम पूर्वसूचना बिना नै लागू गरेकाले समस्या उत्पन्न भएकोसमेत बैठकमा बताएका छन्।

