भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी प्रणालीले विगतमा तोडेका स्वनियमनका पद्धतिहरूलाई सुधार गर्न केही समयका लागि नियन्त्रण र सन्तुलन आवश्यक रहेको बताएका छन्।
शनिबार ललितपुरमा १०३ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले विगतमा भएका कमजोरीहरू सबै पक्षबाट भएको स्वीकार गर्दै अब ती कमजोरी सच्याएर सहकारी क्षेत्रलाई सही दिशामा लैजान जरुरी रहेको उल्लेख गरे।
उनले सहकारी नियमनका लागि प्राधिकरण आवश्यक छ भन्ने मागकै आधारमा सहकारी नियमन प्राधिकरण बनाइएको स्पष्ट पारे। तर, काम सुरु नहुँदै प्राधिकरणमाथि आलोचना हुनु असमयिक भएको उनको भनाइ थियो।
“यहाँहरूको माग अनुसार नै नियमन प्राधिकरण बनेको हो,” उनले भने, “काम सुरु नहुँदै नियन्त्रण भयो भनेर विरोध गर्नु सान्दर्भिक छैन। कुनै प्रणाली विग्रिएको छ भने त्यसलाई सुधार गर्न नियन्त्रण जरुरी हुन्छ।”
मन्त्री अधिकारीले सहकारी क्षेत्रलाई सरकारले नियन्त्रणमा लैजान खोजेको नभई स्वनियमनकै आधारमा अघि बढ्ने बताए। तर, विगतमा आफैंले तोडेको पद्धति सुधार गर्नका लागि सन्तुलन र सुधारको आवश्यकता रहेको स्पष्ट पारे।
उनले सहकारीलाई राष्ट्रको मेरुदण्डका रूपमा चित्रण गर्दै यसको मजबूतीका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
