नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार देशभरको लगातार वर्षाका कारण सात वटा मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने चार वटा राजमार्ग एकतर्फी रूपमा मात्र सञ्चालनमा छन्। शनिबार दिउँसो २ बजेसम्मको अद्यावधिक तथ्यांकमा यो जानकारी आएको हो।
विशेष गरी संखुवासभाको कोशी राजमार्ग अविरल वर्षाले पूर्ण रूपमा बन्द भएको छ। काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड र सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गमा पहिरो खसेर यातायात ठप्प भएको छ।
त्यस्तै, डोल्पाको भेरी करिडोर, रुकुम पश्चिमको जाजरकोट–डोल्पा सडकखण्ड, जाजरकोटको मध्य पहाडी राजमार्ग र बाजुराको मार्तडी–कोल्टी कच्ची सडक समेत पहिरो र बाढीका कारण अवरुद्ध छन्।
प्रहरीका अनुसार आवश्यक निकास र राहत कार्यका लागि सम्बन्धित निकायहरू परिचालित भएका छन्। यात्रुहरूलाई सतर्क रहन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
