मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच विद्यार्थीलाई व्यावहारिक शिक्षा, अनुसन्धान र प्रत्यक्ष अनुभवमा सहयोग गर्ने उद्देश्यसहित समझदारी भएको छ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष अनुपम राठी र त्रिभुवन विश्वविद्यालयका प्रा. डा. केदारप्रसाद रिजालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
यस सम्झौता अनुसार विद्यार्थीहरूलाई इन्टर्नशिप, औद्योगिक भ्रमण, अनुभवजन्य शिक्षा तथा मार्गदर्शन जस्ता व्यावहारिक अवसरहरू प्रदान गरिनेछ।
यी सुविधाहरू संघसँग आबद्ध निजी क्षेत्रका उद्योग र व्यावसायिक संस्थाहरूको सहकार्यमा उपलब्ध गराइनेछ।
दुवै पक्षले यो सहकार्यले विद्यार्थीहरूलाई सीपमा आधारित रोजगारी र प्लेसमेन्टका लागि अनुकूल वातावरण तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
यसका साथै, संघका लक्ष्यहरू कार्यान्वयन गर्न विश्वविद्यालयले आवश्यक विषयगत विद्यार्थी वा स्रोत व्यक्ति उपलब्ध गराउने व्यवस्था पनि समझदारीमा समेटिएको छ।
