नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले संसदमा प्रस्ताव गरिएका विधेयकहरू यही अधिवेशनमै पारित गर्नुपर्नेमा जोड दिएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले कानुन निर्माण प्रक्रिया छिटो र प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
उनको भनाइमा, सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत घोषणा गरिएका विधेयकहरू फास्ट ट्रयाकमार्फत अघि बढाइनु जरुरी छ।
“मैले संसदमा पनि भनेको छु, जुनसुकै विधेयक ल्याउने भनिएको छ, ती सबै यही अधिवेशनमै पास गर्नुपर्छ,” आचार्यले स्पष्ट पारे।
यदि केही महत्वपूर्ण विधेयकहरू यो अधिवेशनमै पारित हुन नसकेमा अध्यादेशमार्फत ल्याएर अगाडि बढाउनु पर्ने उनले सुझाव दिए।
“महत्वपूर्ण विधेयक अधिवेशनमा पास हुन नसके अध्यादेशबाट ल्याउनुपर्छ,” उनले भने, “वर्षौंदेखि कानुनविहीन अवस्थामा देशलाई राखेर अघि बढ्न सकिँदैन।”
यद्यपि, आचार्यले कानुन बनाउने क्रममा गुणस्तरमा सम्झौता हुन नहुने उल्लेख गरे। उनले कानुन छिटो बनाउनुपर्छ भन्ने सोच ठीक भए पनि आवश्यक छलफल र तयारी बिना प्रक्रिया अघि बढाउनु अनुचित हुने धारणा राखे।
