एसईईमा ४ जीपीए प्राप्त गरेकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमबीबीएस तहसम्मको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।
भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा गत शुक्रबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अंकसहित उत्तीर्ण भएकी थिइन्। उनी स्थानीय महेन्द्रग्राम माध्यमिक विद्यालयकी छात्रा हुन्।
सानैदेखि बाबुआमा काम गर्ने इँटाभट्टामा हुर्किएकी गोमाको सपना डाक्टर बन्ने हो। उनको कठिन आर्थिक अवस्थाबारे जानकारी पाएपछि गुरुङले व्यक्तिगत रूपमा उनलाई एमबीबीएससम्मको अध्ययनमा पूर्ण साथ दिने निर्णय गरेका हुन्।
बिहीबार गोमालाई भेटेका गुरुङले उज्ज्वल भविष्य निर्माणको यात्रामा आफूले सक्दो सहयोग गर्ने बताएका छन्।
