अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको जिल्ला प्राविधिक कार्यालय, दुनैका तत्कालीन प्रमुख इन्जिनियरसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार २०६७/६८ सालतिर साविक दुनै गाविस–२ र ३ (हालको ठूलीभेरी नगरपालिका–४) मा अवस्थित भनेर काल्पनिक दुर्गा प्राथमिक विद्यालय खडा गरी झूटो कागजातका आधारमा बजेट निकासा गरिएको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।
मुद्दा दायर गरिएका व्यक्तिहरूमा तत्कालीन इन्जिनियर रविचन्द्र पंजियार, लेखापाल मनिराम कुर्मी, निर्माण समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगीता बुढा रहेका छन्।
चारै जनाले मिलेमतोमा दुई कोठे भवन निर्माण भएको देखाउने नक्कली कागजात बनाएर ७ लाख ६० हजार रुपैयाँको सरकारी रकम विनियोजन गरेको आयोगको दाबी छ।
आयोगले उनीहरू विरुद्ध सोही रकम बराबरको बिगो मागसहित कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।
