नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय व्यवस्थाप्रति कडा आलोचना गरेका छन्। उनले यो व्यवस्था ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ जस्तो भएको टिप्पणी गरेका हुन्।
काठमाडौंमा आयोजित ‘समाजवादी दर्शनको रुपरेखा’ नामक पुस्तक विमोचन कार्यक्रममा बिहीबार बोल्दै अध्यक्ष दाहालले विगतमा जनवादी क्रान्तिका क्रममा मार्क्सवादी विचारधारा प्रचार गर्दा संसदीय प्रणालीलाई यही शैलीमा व्याख्या गरिएको स्मरण गरे।
उनका अनुसार हाल निजामती विधेयकमा देखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी विवाद पनि त्यही प्रवृत्तिको पुनरावृत्ति हो। उनले भने, “देखाउँदा खसीको टाउको देखिएको छ, तर भित्रभित्रै कुकुरको मासु बेचिएको जस्तो अनुभव भइरहेको छ।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले आफू नेतृत्वमा रहेको सरकारले समाजवादको दिशातर्फ अगाडि बढ्ने प्रयास गर्दै आएको दाबी पनि गरे।
उनका अनुसार नेपालमा पूँजीवादी जनवादी क्रान्तिको मुख्य कार्यभार पूरा भइसकेको छ र अहिले देश समाजवादी क्रान्तिको चरणमा प्रवेश गरिसकेको छ।
समाजवादको आधार निर्माण गर्ने जिम्मेवारी वामपन्थी शक्तिहरूमाथि रहेको उल्लेख गर्दै उनले अबको यात्रामा कम्युनिष्टहरू अग्रसर हुनुपर्ने बताए।
