नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अब सक्कली र नक्कली समाजवादी छुट्याउन गाह्रो भएको बताएका छन्।
समाजवादी दर्शनको विषयमा लेखिएको पुस्तक ‘समाजवादी दर्शनको रूपरेखा’ को लोकार्पण कार्यक्रममा बिहीबार बोल्दै उनले समाजवादको नाम लिने र व्यवहारमा गर्नेबीच ठूलो विरोधाभास रहेको जिकिर गरे।
उनका अनुसार पूँजीवादले व्यक्तिवादलाई र समाजवादले सामूहिकतालाई आधार मान्छ तर व्यवहारमा अहिले समाजवादी भन्नेहरूले पनि व्यक्तिवादी प्रवृत्ति देखाइरहेका छन्।
‘आज समाजवादको नाम धेरैले लिएका छन् तर व्यवहारमा तिनको दृष्टिकोण, जीवनशैली र राजनीति समाजवादको मौलिक सिद्धान्तभन्दा टाढा रहेको छ,’ प्रचण्डले बताए।
उनले थपे, ‘आजभोलि सामन्ती, दलाल, नोकरशाहदेखि पूँजीवादीहरूसमेत समाजवादी शब्दको प्रयोग गरिरहेका छन्, यो शब्द लोकप्रिय भएकाले त्यसको आवरणमा आफ्नो स्वार्थ पूरा गर्न खोज्ने प्रवृत्ति बढेको देखिन्छ।’
प्रचण्डले वैज्ञानिक समाजवादको नाममा पनि अवसरवादी र पूँजीवादी शक्तिहरूले प्रयोग गर्न थालेको बताए। त्यसैले यथार्थमा समाजवादी विचारधारामा टिकेर काम गर्ने र केवल त्यसको आवरण प्रयोग गर्नेबीच छुट्याउन कठिन भइरहेको उनको भनाइ थियो।
उनले नेपाल अहिले समाजवादी क्रान्तिको चरणमा प्रवेश गरिसकेको अवस्था भएको उल्लेख गर्दै भने, ‘कोही समाजवाद तुरुन्त लागू भयो भनेर भन्नु हुन्न, तर हामी समाजवादतर्फको यात्रामा छौं भन्नेमा एकमत देखिन्छ।’
प्रचण्डका अनुसार संविधानमै समाजवाद उन्मुख मार्ग उल्लेख गरिएको भए पनि त्यो तत्काल स्थापनाको अवस्था नभई चरणगत यात्राको प्रतीक हो।
संघीय प्रणालीलाई समाजवादी अभ्यासको प्रारम्भिक रूप भन्दै उनले अहिले संविधानका सकारात्मक प्रावधानहरू उल्ट्याउने प्रयास भइरहेको आरोप पनि लगाए।
त्यस्तै, उनले प्रतिनिधिसभा र सरकारका कतिपय कामप्रति कटाक्ष गर्दै भने, ‘आज खसीको टाउको देखाएर भित्रभित्रै कुकुरको मासु बेच्ने काम भइरहेको छ।’ यो भनेको माओवादी युद्धकालीन भनाइलाई पुनः स्मरण गराउँदै अहिले पनि संसदीय व्यवस्थामा त्यही प्रवृत्ति दोहोरिएको आरोप हो।
प्रचण्डले दलाल पूँजीवादको पक्षमा सरकार चलेको, भ्रष्टहरूलाई जोगाउने प्रवृत्ति देखिएको भन्दै अब जनताले छुट्याउनुपर्ने बेला आएको बताए।
‘समाजवाद प्राप्तिको लडाइँ सामान्य होइन,’ उनले भने, ‘कसले दलाल पूँजीवादसँग लडिरहेको छ र कसले उनीहरूको पक्षमा काम गरिरहेको छ भनेर जनताले छुट्याउनैपर्छ।’
