भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडक निर्माणलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले फास्ट ट्र्याक निर्माणका लागि २४ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
उनका अनुसार, यो रकम गतवर्षको तुलनामा दुई अर्ब रुपैयाँले बढी हो। “हामीले फास्ट ट्र्याकमा २४ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ विनियोजन गरेका छौं। बजेट अर्थमन्त्रालयबाट विनियोजन भए पनि सिलिङ हाम्रो मन्त्रालयमार्फत हुन्छ,” मन्त्री दाहालले भने।
मन्त्री दाहालले गत वर्षको अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोले पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुर्याएको स्मरण गर्दै त्यसको पुनर्निर्माणका लागि १९ अर्ब रुपैयाँ स्रोत स्वीकृत गरिएको बताए।
उनले थपे, “राष्ट्रिय राजमार्ग, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय महत्वका परियोजना र निर्वाचन क्षेत्रसँग जोडिएका रणनीतिक सडकहरूमा समानुपातिक र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको छ।”
यसैगरी, बजेट विनियोजन प्रक्रियामा परम्परागत शैलीमा परिवर्तन गर्न नसकेकोमा दुःख व्यक्त गर्दै उनले सुधारका लागि काम गरिरहेको बताए।
