राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी ‘ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय’ राख्नुपर्ने सुझाव दिएका छन्।
आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले उपप्रधानमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहकै पहलमा मन्त्रिपरिषद् बैठक बोलाएर मन्त्रालयको नाम परिवर्तन गर्न सकिने बताएका हुन्।
उनको भनाइमा, मन्त्रालयको नाम र कार्यबीच समन्वय नदेखिएकाले ग्रामीण उत्थानसमेत जोडेर नाम राख्नु उपयुक्त हुने छ।
सांसद मिश्रले राजस्व चुहावट नियन्त्रणमा कडाइ अपनाउनुपर्ने सुझाव दिए। साथै, वन क्षेत्रको अन्धाधुन्ध दोहन रोक्न र आवश्यक परे कानुनीरूपमै रुख कटान गरेर उपयोग गर्नुपर्ने धारणा राखे।
उनले काठमाडौं उपत्यकाका नदी, नाला र खोलाहरू सफा राख्न स्थानीय जनसहभागिता आवश्यक रहेको पनि औँल्याए।
