राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणको जरोदेखि टुप्पोसम्म निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यो विषय आज मात्रै सतहमा आएको भए पनि समस्या गहिरो रहेको उल्लेख गर्दै गृहमन्त्री, प्रधानमन्त्री वा राष्ट्रपतिसम्म संलग्नता देखिए पनि कारबाही हुनुपर्ने स्पष्ट पारे।
शाहीले यो मुद्दा कुनै एक दलको नभई राष्ट्रिय सरोकारको विषय भएकाले सबै दल मिलेर साझा एजेन्डाका रूपमा अघि बढाउनुपर्ने बताए।
उनले भने, “दुबई, कतारजस्ता देशमा नेपाली दिदीबहिनीहरू बन्धक बनाइएका छन्। ७५ हजारभन्दा धेरै नेपाली महिलाहरूको चित्कार सुन्नुपर्ने बेला आएको छ। यसमा संलग्न जोसुकै होस्, कारबाही गर्नैपर्छ।”
शाहीले संसद्मा सरकारको संख्यागत दम्भप्रति पनि आक्रोश व्यक्त गरे। “संसद्मा संख्या धेरै छ भनेर जनताको आवाज दबाउने काम नगर्नुस्,” उनले भने, “अब संसदीय छानबिन समिति बनाएर यो विषयमा सत्यतथ्य बाहिर ल्याउनैपर्छ।”
उनको भनाइमा, समस्या लुकाएर होइन, सामना गरेर मात्रै समाधान सम्भव छ, र त्यसका लागि सम्पूर्ण संसदको एकता अपरिहार्य छ।
