प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद (डिपी) अर्यालले आफू सुमिरे ट्राभल्सका सञ्चालक रहेको स्पष्ट पारेका छन्।
शनिबार सत्तारूढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा सो ट्राभल्स कम्पनीमाथि गम्भीर आरोप लगाएका थिए। उनले सुमिरे ट्राभल्सले भिजिट भिसाको नाममा विगत १० वर्षदेखि हजारौंलाई जापान पठाएर अर्बौं असुलेको र यस्ता काम गर्नेहरू संसदमा बसिरहेको टिप्पणी गरेका थिए।
यसको जवाफमा सांसद अर्यालले कम्पनी आफ्नो भएको स्वीकार्दै भने, “म चोरेर होइन, देशमै केही गरेर खान्छु। कोही भिजिट भिसामा गएका छन् भने प्रमाण पेस गर्नुस्, नत्र संसदको रेकर्डबाट यस्तो निराधार आरोप हटाइनुपर्छ।”
अर्यालले भिजिट भिसा प्रकरणमा रास्वपाले उठाएको आन्दोलनलाई मोड्न नियोजित ढंगले आरोप लगाइएको दाबी गरे।
“हामी ३३ दिनदेखि भिजिट भिसाको नाममा हुने मानव तस्करीविरुद्ध आवाज उठाइरहेका छौं। संसदमा उच्चस्तरीय छानबिनको माग गरिरहेका छौं। यस्तो बेला आरोप लगाएर हाम्रो आन्दोलनको दिशा मोड्न खोजिएको हो,” उनले भने।
उनको अभिव्यक्तिप्रति सांसद खतिवडाले आपत्ति जनाउँदै आफूले कसैको नाम किटान नगरेको दाबी गरे। “चोरको खुट्टा काट भनेको सुनेर आफैं खुट्टा देखाउने जस्तो भयो,” उनले कटाक्ष गरे।
खतिवडाले पनि सुमिरे ट्राभल्समाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै सांसद अर्यालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे।
