राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले बजेट विनियोजन गर्दा जनसंख्याको सन्तुलनलाई प्रमुख मापदण्डका रूपमा लिनुपर्नेमा जोड दिएकी छन्।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद दाहालले कतै जनसंख्या धेरै र कतै कम भए पनि बजेट विनियोजन समान रूपमा भइरहेको भन्दै असन्तुलनप्रति आपत्ति जनाइन्। उनले भनिन्, “जनसंख्याको असन्तुलनलाई ध्यान दिएर मात्र बजेट छुट्याइनु पर्छ, तर अहिले त्यो देखिएको छैन।”
उनले ग्रामीण क्षेत्रको आधारभूत विकास सुनिश्चित गर्न र जनताको प्राथमिक आवश्यकताहरू पूरा गर्न राष्ट्रिय जनसंख्या नीतिमा आवश्यक परिमार्जन गर्नुपर्ने सुझाव पनि दिइन्।
साथै, सांसद दाहालले खानेपानीका मुहानहरूको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै दीर्घकालीन योजना ल्याउन सरकारसँग माग गरिन्।
