नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले पार्टी नेतृत्व परिवर्तनको माग गर्दै अर्ली महाधिवेशनको प्रस्ताव गरेकी छन्।
शनिबार लुम्बिनी प्रदेशमा आयोजित युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्षमाथि कानुनी र संवैधानिक संकट देखिएको भन्दै अब नेतृत्व फेरिनुपर्ने अवस्था आएको बताइन्।
उनको भनाइमा, “पार्टीमा संकट आएको हो, अध्यक्षकै बारेमा आएको हो। अब हामी भाग्ने होइन, पुनर्गठन गरेर अगाडि बढ्ने हो।”
झाँक्रीले मृत विचार वा नेतृत्व बोकेर अघि बढ्न नसकिने बताउँदै थपिन्, “काँधमा मरेको सिनो हालेर हिँड्न सकिन्न। अर्ली महाधिवेशन गरेर नयाँ नेतृत्व बनाऔं।”
उनका अनुसार पार्टीमा नयाँ ढंगको सुरुवात अर्ली महाधिवेशनमार्फत नै सम्भव छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि पतञ्जली समूहसँग जोडिएको जग्गा प्रकरणमा भ्रष्टाचार आरोप लागेको छ। विशेष अदालतले उनलाई ३५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो भने सोही प्रकरणमा अख्तियारको अनुसन्धानपछि उनको सांसद पद निलम्बनमा परेको छ।
झाँक्रीको अभिव्यक्तिले पार्टीभित्र नेतृत्व संकटबारे बहस चुलिएको संकेत देखिएको छ।

