नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन आगामी २०८३ साल मंसिरभित्र सम्पन्न गर्नुपर्ने स्पष्ट अभिव्यक्ति दिएका छन्।
आइतबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले महाधिवेशनको तयारीप्रति पार्टी नेतृत्वमा आवश्यक तदारुकता अझै नदेखिएको भन्दै चिन्ता व्यक्त गरे। यही ढिलाइले पार्टीभित्र महाधिवेशनको मिति सारिने हो कि भन्ने आशंका कार्यकर्ताहरूमा गहिरिँदै गएको उनले बताए।
कोइरालाले महामन्त्री गगनकुमार थापासँग अहिले आफ्नो सहकार्य रहेको बताउँदै पार्टी सभापतिसहित सबैलाई एक ढिक्का बनाएर अघि बढ्न आफू सक्षम रहेको दाबी गरे।
पार्टी एकता र लोकतान्त्रिक अभ्यासमा कुनै सम्झौता हुन नहुने बताउँदै उनले कांग्रेसलाई सबै समेट्ने नेतृत्व आवश्यक भएको धारणा राखे।
संसदमा देखिएको गतिरोधको सन्दर्भमा कुरा गर्दै डा. कोइरालाले सरकार र विपक्षी दलबीच तत्काल संवाद सुरु गर्नुपर्ने बताए। उनले राष्ट्रिय सहमतिको खाँचो औंल्याउँदै भने, “माओवादीलाई साथ लिन सकिन्छ भने रास्वपा र राप्रपालाई पनि सहकार्यमा ल्याउन सक्नुपर्छ।”
गृह मन्त्रालयको विवादसँग सम्बन्धित विषयमा बोल्दै उनले रास्वपा र राप्रपाको मुख्य माग गृहमन्त्रीको राजीनामाभन्दा पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाउनेतर्फ केन्द्रित रहेको बुझाइ सुनाए।
उनको भनाइले कांग्रेसभित्र नेतृत्व र समयमै महाधिवेशन गर्ने विषयमा थप बहस सुरु गराउने देखिन्छ।
