पर्वत जिल्लाको फलेवास नगरपालिका–८ नेपानेमा गएराति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग १ ज ६९७ नम्बरको जीप करिब १५० मिटर तल खसेपछि फलेवास–८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्री गम्भीर घाइते भए। उनलाई उपचारका लागि पोखरातर्फ लैजाँदै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिएका छन्।
उक्त दुर्घटनामा परी फलेवास–७ निवासी ३४ वर्षीय विक्रम सुनार र वडा नं ८ का ३३ वर्षीय सुरज सुनार घाइते भएका छन्। दुवै जनाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ भने उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सापकोटाले बताएका छन्।

