निङ्बो, चीन — शाङ्घाई सहयोग संगठन (SCO) ऊर्जा मन्त्रीस्तरीय बैठकको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शुक्रबार जनवादी गणतन्त्र चीनको निङ्बो सहरमा चीनको राष्ट्रिय ऊर्जा प्रशासन प्रमुख वाङ होङजीसँग भेटवार्ता गरेका छन्।
भेटको प्रारम्भमा मन्त्री खड्काले चीन सरकारलाई SCO ऊर्जा मन्त्रीस्तरीय बैठकको सफल आयोजना तथा आतिथ्यप्रति आभार व्यक्त गर्दै सफल समापनको शुभकामना दिएका थिए।
ऊर्जा मन्त्रालयका अनुसार भेटमा नेपाल–चीनबीचको दीर्घकालीन मित्रता, आपसी विश्वास र ऊर्जा क्षेत्रमा सहयोगका सम्भाव्य पक्षहरूबारे विस्तृत छलफल भएको हो।
चीनका ऊर्जा प्रशासक वाङ होङजीले नेपालको ऊर्जा पूर्वाधार विकासमा आवश्यक प्राविधिक तथा वित्तीय सहयोग उपलब्ध गराउन चीन सरकार तयार रहेको स्पष्ट पारे। उनले ऊर्जा सुरक्षाको सन्दर्भमा दीर्घकालीन साझेदारी आवश्यक रहेको धारणा राखे।
मन्त्री खड्काले नेपालले जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार, वैकल्पिक ऊर्जा प्रवर्द्धन तथा क्षमता अभिवृद्धिका क्षेत्रमा चीनसँग सहकार्य विस्तार गर्न चाहेको उल्लेख गर्दै लगानी तथा प्रविधि हस्तान्तरणको अपेक्षा व्यक्त गरे।
भेटवार्तामा दुबै पक्षले आगामी दिनमा प्राविधिक टोलीहरूको आदानप्रदान गर्दै सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने सहमति गरेका छन्।

