नुवाकोटको ककनी गाउँपालिका–१ स्थित बिमचना खोलाले बगाएर बेपत्ता भएकी महिलाको खोजी कार्यमा तालिम प्राप्त कुकुरसहितको टोली खटिएको छ।
३२ वर्षीया कमला बलामी बिहीबार राति खोलाले बगाएपछि खोजी कार्य सुरु गरिएको हो। घटनापछि सशस्त्र प्रहरी बलले खोजी कार्यलाई तीव्र बनाउन डग हेन्डलर र पशु स्वास्थ्य उपशाखा बलम्बुबाट तालिम प्राप्त दुई कुकुरसहित सात सदस्यीय टोली ककनी पठाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
यससँगै कमलाको खोजीमा शुक्रबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र बञ्चरेडाँडा सुरक्षाबेसबाट ६५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो।
बाढीका कारण बिमचना खोलाले तीन वटा गोठ पनि बगाएको छ। ती गोठहरूमध्ये एकमा रहेका अशोक बलामी घाइते भएका छन्। उनको उपचारका लागि काठमाडौं पठाइएको छ।
स्थानीय तह, सुरक्षाकर्मी र विशेष तालिमप्राप्त कुकुरको सहायताले बेपत्ता भएकी कमलाको खोजी कार्य निरन्तर जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

